प्रीयन्का दास
कलैया,कार्तिक २८
कलैया उपमहानगरपालिका–२१ खम्वा सोनरनिया मुसहर बस्तीमा निशुल्क कपडा बैंक कलैयाले बिपन्न तथा असहाय परिवारका लागि घरदैलोमै पुगेर कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। सो अवसरमा विशेषगरी बालबालिका, युवा, ज्येष्ठ नागरिक तथा आर्थिक रूपले कमजोर वर्गका नागरिकहरूले मनपरी छानी–छानी नयाँ तथा प्रयोगयोग्य कपडा उपलब्ध पाएपछि स्थानीयवासी अत्यन्त हर्षित बनेको वडा नम्बर १५ का वडा अध्यक्ष भोरिक यादवले भने । यादवले यस्ता मानव सेवामा खटिएका र सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
शिविरमार्फत हजारौंको संख्यामा समुदायका सदस्य लाभान्वित भएको कपडा बैंक कलैयाका संस्थापक मुकद्दम अन्सारीले जान्कारी गराएका छन । अन्सारीले ग्रामीण उत्थान अभियान संस्थाको आज २८ औ बार्षिक उत्सवको अवसरमा बैंक ले घर दैलो मै पुगेर संकलन गरिएको कपडा बितरण गर्दा बालबालिकाले पढाइ–लेखाइ तथा दैनिक प्रयोगका लागि आवश्यक पोशाक पाए भने वृद्ध–वृद्धा तथा महिलाले चिसो मौसम नजिकिँदै गर्दा न्यानो कपडाको सुविधा पाएको बताएका छन्। युवाहरुले नया नया जिन्स,पाईन्ट,सर्ट र चिटर पाएका छन ।
कपडा बैंक कलैयाले कार्यक्रम सफल बनाउन हातेमालो गर्ने सबै दाताहरूप्रति विशेष आभार व्यक्त गरेको छ।
तीमध्ये प्रमुख रूपमा टेवा धापाखेल, ललितपुर,पोशाक इम्पोरियम कलैया,ॐ शान्ति कलैया,डा.कमरुलहक मेमोरियल अस्पताल लगायत अन्य महादाताहरूको उल्लेखनीय योगदान रहेको संस्थाले जनाएको छ।
स्थानीय बस्तीमै गएर गरिएको यो अभियानले समुदायमै खुसी र सहजता सिर्जना गरेको मिडिया पार्टनर बिश्वास एफएम को प्रबन्ध निर्देशक तथा बैंकका संरक्षक साजिर मन्सूरले बताए । निशुल्क कपडा बैंक कलैयाले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ साथै अझ सहयोग गर्न सबैमा आग्रह गरेको छ । विभिन्न ब्यक्तीले कपड़ा धोएर आईरन गरि ल्याएर बैंकमा दिदा त्यसलाई ब्यवस्थापन गरेर बैंकले आवस्यकता भएकालाई निशुल्क बितरण गर्ने र बढी भए गाउँ मै पुगेर दिने गरेको मन्सूरले जनाएका छन ।
सो अवसरमा सन्स्थाको अध्यक्ष माधुरी कुमारी गिरि,कोषाध्यक्ष नितु यादव,समृद्द अभियानको अध्यक्ष लिला चौधरी,सदस्यहरु निशा कुमारी केशरी,अमृता कुशवाहा,स्वयंसेवक प्रभाकर जयस्वाल,रनिता शर्मा,अन्जली पटेल,सबनम खातुन,प्रीयन्का कुश्वाहा,चान्दनी यादव,कलैया ज्ञान बाटिका एकाडेमी बोर्डिङ स्कुलका शिक्षकहरु साजन चौधरी,अखिलेश यादव,अङ्गुरी खातुन,मङ्गिता राम लगायतकाको सहयोग रहेको थियो ।







