बिश्वास सम्बादाता
कलैया, कार्तिक २८
कोइका÷सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा जन जागरण युवा क्लब, बाराको आयोजना र देवताल गा.पा., करैयामाई गा.पा.र महागढीमाई नगरपालिकाको समन्वयमा पहिलो वार्षिक प्रविधि प्रदर्शन कार्यक्रम श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय, बरियारपुमा सम्पन्न भएको छ ।
गुणस्तरीय र समावेशी शिक्षा तथा रोजगारीमैत्री सीप विकासमार्फत बालबालिका र युवाको क्षमता अभिवृद्धि गर्दै देश विकासमा योगदान गर्ने उदेश्यले संचालन भएको प्रेरणा परियोजना अन्तरगत तीनै पालिकाका ७ वटा विद्यालयहरुका बालबालिकाहरु र प्रविधि शिक्षक तथा शिक्षिकाहरु, ÷सेभ द चिल्ड्रेनका कर्मचारीहरु, महागढीमाईका नगर प्रमुख, आयोजक संस्थाका कर्मचारीहरु गरेर २५० जनाको सहभागितामा कार्यक्रम संचालन भएको थियो । उक्त कार्यक्रममा बालबालिकाहरुको प्रविधि प्रति अभिरुची जगाउन र अभिमुखिकरण गर्न समार्ट चेली, रोबोटिकस एसोशियशन अफ नेपाल र कारखाना समुहका प्रतिनिधिहरु मार्फत विभिन्न प्रविधि सान्दर्भिक सामाग्रीहरुको प्रदर्शन गरेका थिए ।
उक्त कार्यक्रमको उद्घाटन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गरेका थिए । उनले अबको एकाईसौ शताब्दीमा प्रविधिक शिक्षा अपरिहार्य भएको जानकारी गर्दै यस प्रति सबै सरोकारवालाहरुको ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।
उक्त कार्यकममा आयोजक संस्थाका अध्यक्ष भैयाराम यादवले सबै बालबालिकाहरुलाई आफुलाई लागेको कुनै पनि जिज्ञाशा निर्धक भएर सोध्न पर्दशनीमा आग्रह गरेका थिए । वहाँले यो कार्यक्रम पहिलो भएको र अगामी वर्षहरुमा यहाँकै बालबालिकाहरुले बनाएको प्रविधिमा नविनतम कार्यहरुको प्रदर्शन गरिने जानकारी समेत गराए ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका विकासका लागि प्रविधि सल्लाहकार सचिन सापकोटाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारे । साथै उक्त कार्यक्रममा सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक चन्द्र साह, मिन जी र अन्य कर्मचारीहरु, आयोजक संस्थाका उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव, कार्यकारी निर्देशक डा.श्रीनिवास बैठा, सेनियर परियोजना संयोजक कृष्ण प्रसाद यादव लगायत अन्य परियोजनाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।







