बिश्वास सम्बादाता
बिरगंज,कार्तिक ३०
भारतको मध्य प्रदेश, छतरपुरस्थित बाबा बागेश्वरधामका पीठाधीश्वर पण्डित धिरेन्द्र शास्त्रीको अगुवाइमा आयोजना गरिएको दश-दिवसीय ‘सनातन हिन्दू एकता पदयात्रा’ मा नेपालबाट समेत उल्लेख्य उपस्थितिसहित बीरगंजका तीन जना पत्रकारले पनि सक्रिय सहभागिता जनाएका छन्।
७ नोभेम्बरबाट भारतको राजधानी दिल्लीदेखि प्रारम्भ भएर १६ नोभेम्बरमा बृन्दाबनसम्म सम्पन्न पदयात्रामा भारत र नेपाल गरी लाखौँ संख्यामा सनातन धर्मप्रेमी भक्तजन सहभागी भएका थिए।
पदयात्राको मुख्य उद्देश्य भारतलाई ‘हिन्दू राष्ट्र’ घोषणा गर्नुपर्ने र सनातन परम्पराभित्र रहेको छुवाछुत, विभेद तथा विकृतिहरू अन्त्य गर्न सम्पूर्ण सनातन परिवार एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश दिनु रहेको आयोजक पक्षले जनाएको छ।
पदयात्रामा भारतका ठूला व्यवसायी, सामाजिक अगुवाहरू, तथा बलिउड कलाकार संजय दत्त, शिल्पा शेट्टी, राजपाल यादवलगायत धेरै कलाकारहरूको समेत उपस्थिति रहेको थियो।
दश दिनसम्म चलेको यो पदयात्रा बृन्दाबन वनस्थित बाके बिहारी मन्दिरमा विशेष दर्शनसँगै सम्पन्न भएको हो।
यस ऐतिहासिक पदयात्राको स्थलगत रिपोर्टिङका लागि ए न्यूज टेलिभिजनका राज सरार्फ,ज्योति दैनिकका कन्हैया पटेल,एशियन न्युजका निरञ्जन साह बृन्दाबन पुगेका थिए।
ए न्यूज टेलिभिजनका पत्रकार राज सरार्फले पदयात्राबारे आफ्नो अनुभव साझा गर्दै भने, “हामी पत्रकारिताको दायित्वका लागि बृन्दाबन आएका थियौँ, तर सनातन परिवारमा जन्मिएको नाताले धर्म, आस्था र संस्कारप्रति हाम्रो कर्तव्य पनि उति नै महत्त्वपूर्ण छ। रिपोर्टिङसँगै कर्म र धर्म दुवै निभाएकोमा गर्व गरेको छु।”
सहभागी नेपाली भक्तजनका अनुसार पदयात्राले धर्म, संस्कार, एकता र सामाजिक सदभाव प्रति नयाँ ऊर्जा भरिदिएको छ।
आयोजक पण्डित धिरेन्द्र शास्त्रीले नेपाल–भारतको सनातन सम्बन्ध अझ प्रगाढ बनाउने कुरामा पनि पुण्तिले जोड दिएका थिए।
पदयात्रा सम्पन्नसँगै सहभागीहरूले बृन्दाबनमा आयोजित विशेष सत्संग, भजन-कीर्तन तथा दर्शनमा समेत सहभागिता जनाएका थिए।







