साजिर मन्सूर
कलैया,मङ्सिर ३
बाराको सिमरा विमानस्थल आसपास क्षेत्रमा Zen-Z युवाहरुको प्रदर्शन तथा राजनीतिक दल आवद्व समूहहरुको झडप भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालय लगायत निजी सम्पत्ति क्षति हुन नदिन साथै परिस्थिति थप विग्रन नदिन आज मिति २०८२।०८।०३ गते दिउँसो १२:३० बजे देखि बेलुका ८:०० वजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम बारा जिल्लाको जीतपुरसिमरा उ.म.न.पा. भित्र देहायको क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले जनाएका छन ।
कर्फ्यु आदेशमा गण्डक नहर देखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटर सम्म कर्फ्यु लगाएको छ । कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दम दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैबिच आज परवानिपुर को चैनपुर बजारमा राष्ट्रीय युवा संघको मदेश प्रदेश स्तरिय युवा जागरण अभियानमा आउन लागेका एमाले नेता शंकर पोखरेल र महेश बस्नेत न आउने पक्का भएको छ । तर पुर्व निर्धारित कार्यक्रम भने हुने राष्ट्रीय युवा संघ बारा का अध्यक्ष सद्दाम अन्सारी ले जनाएका छन ।







