साजिर मन्सूर
कलैया,मङ्सिर ८
कलैया उपमहानगरपालिका वडा नम्बर ३ निवासी पाच पटक वडा अध्यक्ष भैसकेका नगिना साह कानुले श्री ब्रहम बाबा मन्दिर संरक्षण समिती को नाममा एक कठ्ठा जग्गा पास गरेपछि स्थानिय बासी हर्षित भएका छन ।
जितपुर सिमरा उपमहानगरपालिका १९ मधुरापुरमा मुख्य सडक सङ्गै रहेको एक कठ्ठा जग्गा दान दिएका छन ।
मन्दिर व्यवस्थापन समिति र वडाबासिको उपस्थितिमा सम्पन्न कानुको भब्य सम्मान कार्यक्रममा साहले धार्मिक स्थलहरूको संरक्षण र समृद्धिका लागि समुदायको सक्रिय भूमिका अत्यन्त महत्वपूर्ण हुने भन्दै आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे।
दाता कानुले आफुले दिएको जग्गा मन्दिरको विस्तार, धर्मशाला निर्माण तथा आगन्तुक भक्तजनका आवश्यक सुविधा व्यवस्थापनका लागि उपयोग गरिनेमा आफु बिस्वस्त रहेको बताए । जग्गादाता कानुले आफ्नो र श्रीमती गिता देबिको धेरै पहिलेको मनोकामना रहेकोले आज जग्गा पास गरेपछी दुबै जना धेरै खुशी भएको बताए ।
आफू २०३३,२०३९,२०४४ र त्यसपछी शाही कालमा समेत एक पल्ट मनोनित र एक पल्ट निर्वाचित गरि दुई पटक वडा अध्यक्षको जिम्मेवारी निर्वाह गरेका कानु वडा बासिको प्रीय जनप्रतिनिधि र समाजसेविका रुपमा परिचित रहेका छन ।
स्थानीय धार्मिक तथा सांस्कृतिक विकासलाई थप सुदृढ बनाउने उद्देश्यले पाँच पटकसम्म वडा अध्यक्षको जिम्मेवारी सम्हालीसकेका समाजसेवी नगिना साहले ब्रहम बाबा मन्दिरका लागि करिब ५० लाख रुपैयाँ बराबरको जग्गा दान गरेपछि जितपुर १९ का वडा अध्यक्ष दिपेन्द्र कुमार छेत्री ले धन्यवाद दिए । मन्दिरको वरिपरि स्थानियले चन्दा संकलन गरेर पर्खाल निर्माण गराएको र आफू निर्वाचित भएर यसमा गेट र ढलान गराएको छेत्रीले बताए ।
वडा सदस्य मदन साह तेलिले जग्गादाता कानुको यो धार्मिक सहयोगका लागि समग्र वडा वासी सदैव कृतज्ञ रहने बताए ।
श्री ब्रहम बाबा मन्दिर संरक्षण समितीका अध्यक्ष लालबाबु साह कानुले यस्ता धर्मात्माहरुले गर्दा नै हरेक धर्म संस्कृति को जगेर्नामा सहयोग पुग्ने गरेको बताएका छन ।
स्थानिय पासपत पास्वानले साहको यो कदमलाई समाज र संस्कृतिप्रति उनले राखेको समर्पणको उदाहरणका रूपमा स्वागत गरेका छन्। पास्वानले दान गरिएको जग्गाले मन्दिरको भौतिक तथा धार्मिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
मन्दिर समितिका पदाधिकारीहरूले दानदाताप्रति आभार व्यक्त गर्दै योजनाबद्ध रूपमा निर्माण तथा विकास कार्य अघि बढाइने जानकारी दिएका छन्।
सम्मान कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिका पाँच सय बढी नागरिकको उपस्थिति रहेको मन्दिर संरक्षण समितिको सचिव भरोश दास थारुले जानकारी गराए ।







