साजिर मन्सूर
कलैया, मङ्सिर १७
३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार, पहुँच र सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्यले कलैयामा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कलैया उपमहानगरपालिकाको आयोजना तथा नेपाल अपांग सेवा संघ,बारा र मुक्ति नेपाल संस्थाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
सहभागीहरूलाई अपाङ्गता अधिकारसम्बन्धी कानुनी व्यवस्था, सेवा–सुविधा, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सीप विकास कार्यक्रमबारे सहजकर्ता नेपाल अपांग सेवा संघ बाराका अध्यक्ष गङ्गा वाग्लेले विस्तृत जानकारी गराएका थिए ।
सहजकर्ता वाग्लेले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न राज्य, समाज र समुदाय सबैको समान जिम्मेवारी रहने बताउँदै पहुँचयुक्त संरचना निर्माण, भेदभावरहित सेवा उपलब्ध गराउन तथा उनीहरूको क्षमता विकासमा जोड दिन आवश्यक रहेको धारणा राखेका थिए।
अभिमुखीकरण कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले यस्ता कार्यक्रमले अधिकारबोध, आत्मबल र संस्थागत समन्वयमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अपाङ्गता भएकाको आवस्यकता चाहना लाई उपमहानगरपालिका ले सम्बोधन गर्ने बताए ।
साहले ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सम्पन्न कार्यक्रमले समावेशी समाज निर्माणतर्फ महत्वपूर्ण भूमिका निभाउने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका २७ वटै वडा अध्यक्ष, जनप्रतिनिधि, बिशयगत शाखाका प्रमुखहरु,वडा सचिवहरु,अपाङ्गता भएका व्यक्तिहरू, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको सन्चालन शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादवले गरेका थिए भने स्वागत महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख नेहा केशरिले गरेकी थिईन ।







