बिश्वास सम्बादाता
कलैया,मङ्सिर २०
मनोरञ्जन तथा परम्परागत खेलकुद प्रवर्द्धन संरक्षण गर्ने उद्देश्यले कलैया उपमहानगरपालिका–२६ मा आयोजित घोडा दौड प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
वडाको आयोजनामा भएको प्रतियोगितामा बिहारको कोत्वाबाट सहभागी एक घोडाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा कलैया–बाराका विभिन्न ठाउँ तथा छिमेकी राज्य बिहारका ४० बढी घोडा सहभागी बनेका थिए। दर्शकहरूको उत्साह, घोडा मालिकहरूको तयारी तथा प्रतिस्पर्धी घोडाहरूको क्षमताले सम्पूर्ण कार्यक्रम झनै आकर्षक बनेको थियो।
प्रतियोगितामा कलैया २६ को रामएकबाल यादवको घोडा दोस्रो र मोतिहारिको घोडा तेस्रो भएको छ ।
४० मध्ये ६ वटा घोडा फाईनलमा पुगेकामा त्यसबाट बिजेता छनौट भएका हुन ।
विजेतालाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गर्दै प्रमुख अतिथि वडा अध्यक्ष धर्मेन्द्र प्रसाद यादवले आगामी वर्ष प्रतियोगितालाई अझ ठूलो स्तरमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले खेलकुद को बिकास सङ्गै वडामा बिकासको लहर छाएको र जनता खुशी भएको बताएका छन ।
यस्तो कार्यक्रमले सीमावर्ती क्षेत्रको मैत्रीपूर्ण सम्बन्ध, स्थानीय सांस्कृतिक पहिचान र खेलकुद पर्यटनको प्रवर्द्धनमा भूमिका खेल्ने प्रमुख अतिथि यादवले विश्वास व्यक्त गरेका छन्।







