साजिर मन्सूर
कलैया,पुष ९
मिडिया काउन्सिल मधेस प्रदेशको आयोजनामा “सञ्चार माध्यमको अवस्था र चुनौती” विषयक एकदिवसीय गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रम को उदघाटन गर्दै मधेस प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले केन्द्रमै सीमित स्रोत र सुविधाका कारण प्रदेश तथा स्थानीय तहका सञ्चार माध्यमहरू विभिन्न समस्यामा परेको उल्लेख गर्दै पत्रकारको क्षमता अभिवृद्धि, सुरक्षा, तालिम तथा प्रविधिमा पहुँच सुनिश्चित गर्न संघीय संरचनाअनुसार अधिकार र स्रोत प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुन आवश्यक रहेको बताएका छन ।
सोनलले स्वतन्त्र, उत्तरदायी र सशक्त पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूको पेशागत हकहित संरक्षण र आर्थिक तथा संरचनागत सशक्तीकरणमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिए। उनले सम्बिधानलाई सहि ट्र्याकमा ल्याउन तोकिएको समयमा नै प्रतिनिधि सभा सदस्य पदको चुनाव गराउनै पर्ने बताएका छन उनले चुनावलाई भयरहित बाताबरणमा सम्पन्न गराउने दायित्व सरकारको भएकोले त्यो सरकारले गम्भीर भएर हेर्नुपर्नेमा जोड दिदै पत्रकारहरुले चुनावका लागि बाताबरण बनाउने किसिमको सुचना सम्प्रेषण गर्नमा कन्जुस्याइँ नगर्न आग्रह गरे ।
गोष्ठीमा मधेस प्रदेशमा सञ्चालित छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यमले भोग्दै आएका समस्या र सुधारका सम्भावनाबारे गहन छलफल हुने मिडिया काउन्सिल मधेसको कार्यवाहक अध्यक्ष सुरेश यादवले बताएका छन ।
कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ का केन्द्रिय सचिव अशोक तिवारीले सञ्चार माध्यमको आर्थिक संकट, व्यावसायिक सुरक्षाको अभाव, डिजिटल रूपान्तरणको चुनौती, गलत सूचना (फेक न्युज) नियन्त्रण, पत्रकारको क्षमता विकास लगायतका विषयमा सबै संबंधित निकाय गम्भीर हुनुपर्ने बताएका छन । तिवारिले साथै प्रेस स्वतन्त्रताको संरक्षण गर्दै उत्तरदायी र मर्यादित पत्रकारिता प्रवर्द्धन गर्न मिडिया काउन्सिलको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन ।
गोष्ठीमा मिडिया काउन्सिल मधेस प्रदेशका पदाधिकारी, सञ्चारकर्मी, सम्पादक, सञ्चार माध्यमका सञ्चालक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरू मध्ये गुरु प्रसाद गौतमले सञ्चार माध्यमलाई दिगो बनाउने नीति, विज्ञापन व्यवस्थापन, पत्रकारको सामाजिक सुरक्षा र तालिम कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव प्रस्तुत गरेका छन।
सो अवसरमा नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्प राज खतिवडा र पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
आयोजक काउन्सिलको अध्यक्ष यादवले गोष्ठीबाट प्राप्त सुझावलाई आगामी कार्ययोजना निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन । गोष्ठीले मधेस प्रदेशको सञ्चार क्षेत्र सुधारका लागि साझा धारणा निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
गोष्ठीमा बारा र पर्साका ४५ बढी मिडियाका सन्चालक/सम्पादक सहभागी भएका थिए ।







