साजिर मन्सूर
कलैया, पौष ११ ।
नेकपा (एमाले)का नवनिर्वाचित केन्द्रीय कमिटी सदस्य तथा युवा नेता इन्जिनियर मोबिन आलमले संसद पुनःस्थापनाबिना मुलुकको राजनीतिक संकट समाधान असम्भव हुने ठोकुवा गरेका छन्। उनले वर्तमान सत्ता संरचना असफल भइसकेको दाबी गर्दै संविधानको मर्मअनुसार संसद पुनःस्थापना गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।
सिम्रौनगढ नगरपालिका–११, भगवानपुरमा आयोजित सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै आलमले जेन्जी आन्दोलनपछि बनेको सरकारले जनआकांक्षा सम्बोधन गर्न नसकेको आरोप समेत लगाएका छन । “सडकको दबाब र जनभावनालाई बेवास्ता गरेर सरकार चलाउन खोज्दा संकट झन् जटिल बन्दै गएको छ,” उनले भने, “अब निकास संसद पुनःस्थापनामै छ।”
आलमको अभिव्यक्तिलाई पछिल्लो राजनीतिक अस्थिरताप्रतिको एमालेको आधिकारिक धारणा झल्किने संकेतका रूपमा हेरिएको छ। जेन्जी आन्दोलनले सिर्जना गरेको दबाब, सरकारको कमजोर कार्यसम्पादन र बढ्दो जनअसन्तोषबीच संसद पुनःस्थापनाको बहस फेरि केन्द्रमा आएको छ। यसले सत्ता पक्षमाथि नैतिक र राजनीतिक दबाब बढाउने देखिन्छ। एमाले नेतृत्व तहबाटै संसद पुनःस्थापनाको माग तीव्र हुँदै जानु आगामी दिनमा सत्ता समीकरण परिवर्तनतर्फ संकेत हुन सक्ने विश्लेषकहरू बताउँछन्।
कार्यक्रम नगर कमिटी अध्यक्ष महेन्द्रप्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा मधेस प्रदेश सभा सदस्य राजपतीदेवी जयसवाल, जिल्ला कमिटी सदस्यहरू तथा नगर–वडा तहका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
आलमले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा देखिएको ऐतिहासिक जनसहभागिताले पार्टीप्रतिको जनविश्वास अझ मजबुत भएको दाबी गरे। “एमाले आगामी निर्वाचनमा निर्णायक शक्तिका रूपमा स्थापित हुन्छ,” उनले आत्मविश्वास व्यक्त गरे।
कार्यक्रममा नगर कमिटी अध्यक्ष जयसवालले नवनिर्वाचित केन्द्रीय सदस्य आलमलाई दोसल्ला ओढाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिए। सो अवसरमा आलमले पार्टीका नवसंगठित सदस्यहरूलाई ज्याकेट वितरण गर्दै संगठन विस्तार र जनसेवामा सक्रिय रहन आग्रह गरे। कार्यक्रमको सहजीकरण युवा नेता मुकेश जयसवालले गरेका थिए।







