साजिर मन्सूर

कलैया, पौष २४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरू बिक्री–वितरण नियन्त्रण ऐन २०४५ तथा नियमावली २०५१ को परिचय तथा अभिमुखीकरण कार्यक्रम आज कलैयामा सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालय बारा, कलैयाको आयोजनामा करणराज होटल, कलैयामा आयोजित उक्त कार्यक्रममा आ.व. २०८२/०८३ का लागि ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन, आमाको दूधको महत्व, शिशु पोषण र बालस्वास्थ्यमा यसको भूमिका लगायत विषयमा विस्तृत छलफल गरिएको भागिरथ चौधरीले जानकारी गराएका छन ।

सहभागीहरूलाई आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको अवैध प्रचार–प्रसार, बिक्री तथा वितरण नियन्त्रण गर्न ऐन–नियमावलीले तोकेको व्यवस्था र दायित्वबारे सहजकर्ता रबि कुमार भास्करले जानकारी गराएका थिए।

भास्करले आमाको दूध नै शिशुका लागि सर्वोत्तम पोषण स्रोत भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

 

आयोजक स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले यस्ता अभिमुखीकरण कार्यक्रमले ऐनको कार्यान्वयनलाई थप प्रभावकारी बनाउनुका साथै आमाको दूध प्रवर्द्धन अभियानलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । यादवले बजारमा खुल्ला रुपमा बिक्रीवितरण हुने पकेट दुधलाई निरुत्साहित गर्न सबैको सहयोग अत्यावश्यक हुनेमा जोड दिदै यसमा स्थानिय सरकाले समेत नियमन गर्नुपर्ने बताए ।

यादवले बच्चाको लागि स्तनपान (आमाको दूध) को निकै महत्व रहेको बताए । उनले आमाको दूध बच्चालाई खुवाउदा तलका फाईदा हुने बताए ।

१.आमाको दूध बच्चाको लागि अमृत समान हो। यसले बच्चाको जीवन रक्षा गर्छ ।

२.यसमा बच्चालाई आवश्यक पर्ने पर्याप्त पानी (८७%) र खनीज तत्वहरू हुन्छ ।

३.यो सबै सफा र सुरक्षित हुन्छ ।

४.यसमा झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धि संक्रमणहरू विरूद्ध लड्ने प्रतिरोधात्मक तत्वहरू रहेको हुन्छ ।

५.यो सधै तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।

७.बच्चाको लागि यो पूर्ण खाना हो। यसमा बच्चालाई ६ महिना पूरा नभएसम्म आवश्यक पर्ने सम्पूर्ण पोषकतत्वहरू पर्याप्त मात्रामा हुन्छ ।

८.यसले बच्चाको उपयुक्त वृद्धि तथा विकास हुन मद्दत गर्छ ।

९.यो बच्चाले सजिलै पचाउन सक्छ । यसमा रहेका पोषकतत्वहरू शरीरले राम्ररी सोस्न सक्छ ।

१०.यसले एलर्जी विरूद्ध रक्षा गर्छ । दूधमा रहेको प्रतिरोधात्मक तत्वले बच्चाको आन्द्राको रक्षा गर्छ र हानीकारक तत्वहरूलाई रगतसम्म पुग्न दिदैन ।

११.यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांशपेशिको विकास गर्न सहयोग गर्छ ।

१२.आमासँग पटक-पटक टाँसेर राख्ने गरेमा स्नेहपूर्ण सम्बन्ध हुन्छ जसले बच्चाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न पनि सहयोग गर्छ ।

 

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पास्वानले विभिन्न बहानामा आमाको दुधलाई छोडाएर पकेटको दुध को प्रयोग प्रोत्साहनलाई घटाउनुपर्नेमा जोड दिए । उनले सन्चार माध्यममा समेत यस बारे बढी भन्दा बढी सुचना प्रवाहका लागि बजेट छुट्याउनमा तिनै तहको सरकारको ध्यान जान जरुरी रहेको बताए ।

 

कार्यक्रममा स्वास्थ्यकर्मी, सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि, निजी स्वास्थ्य संस्थाका सञ्चालक सन्चारकर्मिहरु तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर