बारा, १९ माघ २०८२

विश्व सिमसार दिवस २०२६ को अवसरमा हलखोरिया साझेदारी वन उपभोक्ता समुहको आयोजनामा तथा राष्ट्रिय जनकालत मञ्च (NAFAN) र फरेष्टी युथ नेटवर्क (FYN) को सहकार्यमा सोमबार बारा जिल्लाको हलखोरिया साझेदारी वन क्षेत्र भित्र पर्ने खाप्से खोला सिमसार क्षेत्रमा  मा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“खाप्से खोला: हाम्रो सिमसार, हाम्रो ज्ञान, हाम्रो भविष्य” शीर्षकमा आयोजित कार्यक्रममा खाप्से खोलाको संरक्षण, दिगो उपयोग तथा स्थानीय ज्ञानको भूमिकामाथि गहन छलफल गरिएको थियो । कार्यक्रमको अध्यक्षता हलखोरिया साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष विकल्प भट्टराईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जीतपुर-सिमरा उपमहानगरपालिकाका उप-प्रमुख भोला प्रसाद अधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछाने, वडा नं. १३ का अध्यक्ष हेम नारायण चौधरी,  सब डिभिजन वन कार्यालय डुमरवानाका वन अधिकृत राजेश शाह, स्थानीय जनप्रतिनिधि, शिक्षक, पत्रकार, युवा तथा सामुदायिक सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सम्पूर्ण सञ्चालन राष्ट्रिय जनकालत मञ्च (NAFAN) का अस्मित घिमिरे ले गर्नुभएको थियो ।

उद्घाटन मन्तव्यमा उप-प्रमुख भोला प्रसाद अधिकारीले सिमसार क्षेत्र जैविक विविधता, जलस्रोत संरक्षण र स्थानीय जीविकोपार्जनका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै खाप्से खोलाको संरक्षणमा स्थानीय सरकार, समुदाय र युवाको साझा भूमिका अपरिहार्य रहेको बताए । कार्यक्रममा वडा नं. १५ का वडा सदस्य रामेश्वर खा थारुले खाप्से खोला सिमसारको विगत देखि वर्तमान सम्मको सांस्कृतिक अवस्था  र यसमा देखिएका चुनौतीहरूबारे प्रकाश पार्दै तत्काल संरक्षणका कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।

प्यानल छलफल सत्रमा उप-प्रमुख भोला प्रसाद अधिकारी, हलखोरिया साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष विकल्प भट्टराई, वन अधिकृत राजेश शाह, विज्ञान शिक्षक पंकज बि.क.  युवा अभियन्ता कृषला मिश्र, खाप्से खोलाका प्रयोगकर्ता तथा स्थानीय बासिन्दा श्री देवी चौधरी सहभागी थिए ।

छलफलका क्रममा सहभागीहरूले सिमसार संरक्षण, स्थानीय ज्ञानको प्रयोग, अवैध दोहन नियन्त्रण, तथा दीर्घकालीन व्यवस्थापनका उपायहरूबारे आफ्ना विचार राखे। यस क्रममा दर्शकदीर्घाबाट पनि सिमसार संरक्षणका उपाय, खाप्से खोलामा बढ्दो अतिक्रमण र प्रदूषण नियन्त्रणका विषयमा विभिन्न प्रश्नहरू उठाइएका थिए, जसमा प्यानलिस्टहरूले प्राविधिक तथा नीतिगत दृष्टिकोणबाट जवाफ दिएका थिए।

कार्यक्रमको समापन मन्तव्य अध्यक्ष विकल्प भट्टराईले गर्दै खाप्से खोलालाई दीर्घकालीन रूपमा संरक्षण गर्न साझेदारी वन, स्थानीय सरकार र सरोकारवालाबीच सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा करिब १०० जना स्थानियबासीको सहभागीता थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर