बारा,चैत २०
भारतका प्रतिष्ठित चिकित्सा संस्थानहरूमा कार्यरत नेपाली आवासीय चिकित्सकहरूले समान कामका लागि समान पारिश्रमिक र सम्मानको माग गर्दै सार्वजनिक अपिल गरेका छन्। AIIMS Nepalese Resident Doctors Stipend, Dignity and Rights Struggling Committee ले जारी गरेको अपिलमा विशेषगरी All India Institute of Medical Sciences (एम्स) मा कार्यरत नेपाली चिकित्सकहरूले भोग्दै आएको असमानता र अन्यायप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।
अपिलमा उल्लेख गरिएअनुसार सन् २०१८ मा नेपाल–भारत उच्चस्तरीय संवादमार्फत यो विषय उठाइएको थियो। त्यसपछि भारतीय पक्षले Postgraduate Institute of Medical Education and Research (PGIMER) र Jawaharlal Institute of Postgraduate Medical Education and Research (JIPMER) मा विदेशी (नेपालीसहित) आवासीय चिकित्सकलाई स्टाइपेन्ड दिन सुरु गरे पनि एम्समा भने अहिलेसम्म नीति परिवर्तन हुन नसकेको भन्दै दुख प्रकट गरेको छ ।
समितिका अनुसार एम्समा कार्यरत नेपाली आवासीय चिकित्सकहरूले दैनिक ३६ घण्टासम्म निरन्तर ड्युटी गर्ने, नियमित बिदा नपाउने तथा परिवारबाट टाढा रही सेवा दिनुपर्ने अवस्था छ। यति जिम्मेवारी वहन गर्दा पनि उनीहरूले आफ्नो श्रमअनुसारको पारिश्रमिक (स्टाइपेन्ड) नपाएको गुनासो गरेका छन्।
अपिलमा ‘एउटै प्रवेश परीक्षा (INI-CET), एउटै योग्यता र एउटै जिम्मेवारी हुँदाहुँदै व्यवहारमा असमानता किन?’ भन्ने प्रश्न उठाइएको छ। यो विषय केवल आर्थिक नभई मानव अधिकार, समानता र सम्मानसँग जोडिएको गम्भीर मुद्दा भएको समितिको भनाइ छ।
समितिले सम्पूर्ण नेपाली नागरिक, नागरिक समाज, विद्यार्थी, चिकित्सक समुदाय तथा सरोकारवाला निकायलाई यो विषयमा आवाज उठाउन, सम्बन्धित निकायमाथि दबाब सिर्जना गर्न र सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा प्राथमिकता दिन आह्वान गरेको छ। साथै नेपाली चिकित्सकहरूको अधिकार र सम्मानको पक्षमा एकजुट हुन पनि आग्रह गरिएको छ।
“समान कामको समान पारिश्रमिक हाम्रो अधिकार हो” भन्ने नारासहित गरिएको यो अपिलले नेपाल सरकार तथा सम्बन्धित कूटनीतिक निकायलाई समेत आवश्यक पहल गर्न दबाब बढाउने अपेक्षा गरिएको छ ।
नेपालमा नया सरकार गठन भएकोमा आशा बादी हुँदै हाम्रो माग कुटनैतिक तवरले समेत सम्बोधन हुनेमा बिश्वास बढेको AIIMS रिषिकेशका डा.मोहमद शाहिद रजाले जनाएका छन ।







