बारा,चैत २१

महागढीमाई नगरपालिका–८ अन्तर्गत पर्ने अर्नवा–बेतौना–नरही सडक खण्डको निर्माण कार्य लामो समयदेखि अलपत्र अवस्थामा रहँदा स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। निर्धारित समयमै सम्पन्न हुनुपर्ने उक्त सडक अझै अधुरो रहँदा दैनिक आवागमन जोखिमपूर्ण बनेको छ।
भौतिक पूर्वाधार विकास कार्यालय र शिव शक्ति इन्फ्रा डेभेलोपर प्रा. लि.बीच २०७९ असार १२ गते सम्झौता भई २०७९ असार ३१ देखि निर्माण सुरु गरिएको यस सडक २०८० पुस १३ भित्र सम्पन्न गरिसक्नुपर्ने थियो। कर बाहेक ८ करोड ३८ लाख ६१ हजार २७५ रुपैयाँ ८१ पैसाको लागतमा निर्माण भइरहेको ५ किलोमिटर सडकको काम भने पटक–पटक म्याद थप हुँदासमेत पूरा हुन सकेको छैन।
विशेषगरी महागढीमाई–८ को बेतौना क्षेत्रमा रहेको कल्भर्ट नजिक सडक धसिएको अवस्थामा छ। निर्माण व्यवसायीले मर्मत कार्य अधुरै छाडेपछि सो स्थान अत्यन्त जोखिमपूर्ण बनेको स्थानीयको भनाइ छ। दैनिक रूपमा साना तथा ठूला सवारीसाधन दुर्घटनामा पर्ने जोखिम बढेको छ भने सर्वसाधारणले आवागमनमा ठूलो सास्ती खेप्नु परेको छ।
यस अवस्थाप्रति आक्रोश व्यक्त गर्दै महागढीमाईका सचेत युवाहरूले सम्बन्धित स्थानीय तह, प्रदेश पूर्वाधार कार्यालय तथा निर्माण कम्पनीलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्। उनीहरूले कल्भर्ट नजिकको धसिएको सडक शीघ्र मर्मत गरी दुर्घटना न्यूनीकरण गर्न र बाँकी निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न माग गरेका छन्।
स्थानीयले चेतावनी दिँदै भनेका छन्, “यदि सम्बन्धित निकायले समयमै समस्या समाधानतर्फ पहल नगरेमा निर्माण व्यवसायी र जिम्मेवार निकायविरुद्ध कानुनी प्रक्रिया अघि बढाइनेछ।”
स्थानीयको मागअनुसार अब सम्बन्धित निकायले कस्तो कदम चाल्छन् भन्ने प्रतीक्षा गरिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर