कलैया,२०८२ चैत्र २२
कलैया उपमहानगरपालिका वडा नं. २५ निवासी सिकेन्द्र साहका १५ वर्षीय छोरा रामजी साहलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले आज एक कार्यक्रमका बीच ह्वीलचेयर सहयोग गरिएको छ। शारीरिक अवस्थाका कारण लामो समयदेखि हिँडडुलमा कठिनाइ भोग्दै आएका रामजीलाई “सहयोगी पाइला” संस्थाको समन्वयमा उक्त सहयोग उपलब्ध गराइएको हो।
ह्वीलचेयर उपलब्ध गराउने कार्यमा संस्थाकी सक्रिय सदस्य लक्ष्मी जयसवालको विशेष पहल रहेको बताइएको छ। उहाँको निरन्तर प्रयास र सामाजिक सेवाप्रतिको समर्पणका कारण रामजीले नयाँ सहारा पाएका छन्।
कार्यक्रममा सहयोगी पाइलाका कार्यालय प्रमुख रमेश पटेल, सिसहनिया स्वास्थ्य चौकीका प्रमुख लालबाबू यादव, बघबन स्वास्थ्य चौकीका प्रमुख महमद सजाद अंसारी तथा समाजसेवी रम्भु यादव लगायतको उपस्थिति रहेको थियो।
ह्वीलचेयर प्राप्त गरेपछि रामजी र उनका परिवारमा खुसीयाली छाएको छ। यसअघि घरभित्रै सीमित हुन बाध्य रहेका रामजी अब दैनिक गतिविधिमा सहज रूपमा सहभागी हुन सक्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागीहरूले सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने उदाहरण रामजीको मुस्कानबाट प्रष्ट देखिएको बताए। साथै, यस्ता मानवीय सेवामूलक कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।







