कलैया,चैत २५
GenZ & Youth of Bara को टोलीले आज प्रादेशिक अस्पताल, कलैयाको अनुगमन गर्दै अस्पतालको सेवा प्रवाह, व्यवस्थापन तथा पूर्वाधार सम्बन्धी अवस्थाको अवलोकन गरेको छ। अनुगमनका क्रममा अस्पतालभित्र तथा बाहिरका विभिन्न कमजोरीहरू उजागर भएको सौरभ पान्डेले जनाएका छन्।
पान्डेका अनुसार हाजिरी रजिस्टर जाँच गर्दा सबै डाक्टरहरूको हस्ताक्षर नियमित नभएको पाइएको छ भने प्रयोगशालाका कर्मचारीहरू समेत ढिलो आउने गरेको गुनासो भेटिएको छ। यसले बिरामी सेवामा प्रत्यक्ष असर परेको अनुगमन टोलीले जनाएको छ।
अस्पताल परिसर बाहिर पर्याप्त खुला स्थान हुँदाहुँदै पनि फोहोर व्यवस्थापन कमजोर रहेको तथा पार्किङको उचित व्यवस्था नभएको देखिएको छ। साथै अस्पतालको मुख्य गेट बाहिर रहेका गुम्टीहरूमा गुट्खा तथा चुरोट बिक्री भइरहेको अवस्थाले स्वास्थ्य संस्थाको मर्यादा नै प्रभावित भएको अनुगमन टोलीको भनाइ छ।
त्यस्तै, अस्पतालभित्र फोहोर व्यवस्थापन प्रभावकारी नभएको, बिरामीहरूलाई अनावश्यक रूपमा अन्यत्र “रिफर” गर्ने प्रवृत्ति रहेको तथा अस्पतालमै उपलब्ध प्रयोगशाला सेवा हुँदाहुँदै पनि बिरामीहरूलाई बाहिर परीक्षण गराउन पठाउने गरिएको पाइएको छ।
अनुगमनका क्रममा अस्पतालमा आवश्यक साधन, स्रोत, मेसिन, जनशक्ति तथा पूर्वाधारको अभाव रहेको पनि औंल्याइएको छ। शौचालयमा पानीको समस्या र निःशुल्क औषधि फार्मेसीमा पर्याप्त रूपमा उपलब्ध नभएको विषयसमेत टोलीले उठाएको छ।
GenZ & Youth of Bara ले यस्ता समस्याहरू तत्काल समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सेवा सुधारका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ। साथै अस्पताल व्यवस्थापनलाई फोहोर व्यवस्थापन, पार्किङ व्यवस्था, औषधि उपलब्धता तथा सेवा प्रवाहमा सुधार गर्न सुझावसमेत दिएको छ।







