साजिर मन्सूर 

बारा, जेष्ठ १९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) करैयामाई गाउँपालिकाको पालिका अधिवेशन अन्तिम समयमा आएर स्थगित गरिएको छ। पालिका समितिले जिल्ला संगठन निर्माण विशेष समितिको निर्देशन, पार्टीको विधि, विधान तथा प्रक्रिया विपरीत एकलौटी ढंगले अधिवेशन सञ्चालन गर्न खोजिएको आरोप लगाउँदै अधिवेशन स्थगित गरिएको जनाएको छ।

पालिका सभापति विजय चौधरी द्वारा जारी प्रेस विज्ञप्तिमा जिल्ला संगठन निर्माण विशेष समितिबाट प्राप्त जिम्मेवारीअनुसार गाउँपालिकाका सबै वडामा संगठन गठन गरी सम्बन्धित निकायलाई जानकारी गराइसक्दा समेत त्यसको बेवास्ता गरिएको उल्लेख गरिएको छ। विज्ञप्तिमा पालिका अधिवेशन कार्यविधि २०८१ (संशोधनसहित) को मर्मविपरीत अधिवेशन गराउन खोजिएकाले उक्त निर्णय लिन बाध्य भएको दाबी गरिएको छ।

यस घटनापछि करैयामाईमा रास्वपाभित्र संगठनात्मक विवाद सतहमा आएको देखिएको छ। अधिवेशन स्थगित भएसँगै स्थानीय कार्यकर्तामाझ अन्योल र असन्तुष्टि बढेको बताइएको छ।

पालिका समितिले पार्टीको विधि–विधानअनुसार निष्पक्ष, पारदर्शी र धाँधलीरहित अधिवेशन तत्काल सञ्चालन गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

अधिवेशन स्थगित भएपछि अब जिल्ला संगठन निर्माण विशेष समिति र पार्टी नेतृत्वले के निर्णय लिन्छ भन्ने विषयलाई कार्यकर्ताले चासोका साथ हेरेका छन्। करैयामाईको यो विवादले रास्वपाको संगठन विस्तार अभियानमै प्रश्न उठाएको स्थानीय राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर