बिश्वास डेस्क

सप्तरी,जेष्ठ २७

महिला अधिकार, लैङ्गिक समानता तथा सामुदायिक सुरक्षाको सवाललाई स्थानीय तहको नीति, योजना र सेवासँग प्रभावकारी रूपमा जोड्ने उद्देश्यले सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिकामा सार्वजनिक सुनुवाइ तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।

टेवा, धापाखेल ललितपुरको सहयोग तथा ग्रामीण उत्थान अभियान बाराको आयोजनामा सञ्चालित “सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण–२” कार्यक्रम अन्तर्गत आयोजित सुनुवाइमा महिला, किशोरी, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागि मध्ये राम कुमारी सिंहले घरेलु हिंसा, बालविवाह, लैङ्गिक विभेद, आर्थिक निर्भरता, सुरक्षित मातृत्व सेवा, शिक्षामा पहुँच तथा निर्णय प्रक्रियामा महिलाको न्यून सहभागिताजस्ता समस्याहरू खुलेर राखेकि थिईन । अर्का सहभागी बिणा चौधरीले हिंसामा परेका महिला तथा बालिकाका लागि सहज, छिटो र पीडितमैत्री सेवा उपलब्ध गराउन स्थानीय तहले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पालिकाले ध्यान दिनुपर्ने बताईन ।

 

सहभागीहरू सन्जु खरगा,पार्वती देबि,प्रमिला साह,सुनिता देबि यादव लगायतकाले महिला तथा बालिकाको सुरक्षा सुनिश्चित गर्न समुदाय, विद्यालय, प्रहरी र स्थानीय सरकारबीच समन्वयात्मक कार्यप्रणाली आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा वक्ताहरूले महिला अधिकार केवल महिलाको मुद्दा नभई समग्र समाजको विकास, समानता र सामाजिक न्यायसँग जोडिएको विषय भएको उल्लेख गर्दै महिलामाथि हुने सबै प्रकारका हिंसा, भेदभाव र असमानताको अन्त्यका लागि सामूहिक प्रयास अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

उनीहरूले स्थानीय तहले महिला तथा बालबालिकासम्बन्धी नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै पीडितलाई तत्काल सहयोग, परामर्श, कानुनी सहायता तथा पुनर्स्थापनाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए। साथै किशोरीहरूको शिक्षा, नेतृत्व विकास, आत्मरक्षा क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझावसमेत दिएका थिए।

कार्यक्रमले समुदायस्तरमा महिला अधिकारप्रति सचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय सरकारलाई महिला तथा बालिकामैत्री सेवा प्रवाहका लागि थप जिम्मेवार र जवाफदेही बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो। सहभागीहरूले महिला, किशोरी तथा सीमान्तकृत वर्गका आवाजलाई नीति निर्माण र विकास प्रक्रियाको केन्द्रमा राख्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता सार्वजनिक सुनुवाइ तथा संवाद कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

 

सुनुवाइका क्रममा जवाफ दिदै गाउपालिकाको उपाध्यक्ष कल्पना चौधरीले महिला हिंसा न्यूनीकरण, लैङ्गिक उत्तरदायी बजेट, किशोरी सशक्तीकरण, सुरक्षित सार्वजनिक स्थान, न्यायमा पहुँच तथा स्थानीय तहको जवाफदेहिताका विषयमा आफू अत्यन्तै गम्भीर रहेको र त्यसका लागि आवस्यक कदम चालिरहेको बताईन । उपाध्यक्ष चौधरीले आफुले महिला माथी हुने घटनाका बिषयमा गम्भीर भएर नै गाउपालिकामा Safe House निर्माण गराउन लगाएको बताईन । उनले महिलाहरुका लागि सीप मुलक तालिममा सिलाई कटाई,डल बनाउने तालिम,पापड बनाउने तालिम,हर्पिक बनाउने तालिम,सीप मुलक अन्य तालिम हरु सन्चालन गराउन लगाएको ठोकुवा गरिन । महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता बढाएको समेत बताईन । उनले महिलाहरुका लागि तालिम ल्याउदा पनि केवल भत्ता र नास्ताका लागि मरिहत्ते गरिरहेको देखेर बरु तालिममा भत्ता नै नदिने आफ्नो बिचार रहेको दुखेसो पोखिन । उनले सिचाईको प्रबन्ध मिलाउन स्यालो ट्युबेल,बिजुली पोल तार बिस्तार गर्न लाग्ने प्रतिबद्धता समेत जनाईन । प्रश्नमा उठेको ग्रामिण अल्ट्रासाउन्ड को सन्चालन गर्न ढिलाई भएको भएपनी आवस्यक बजेटको ब्यवस्थापन गर्नमा लागेको र छिटोभन्दा छिटो कार्यक्रम ल्याउने प्रतिबद्धता जनाईन ।

 

वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले वडामा महिला लछित कार्यक्रममा जोड दिने गरेको बताए । उनले आफुले योजना माग्न भनेपनी महिलाहरुले चासो नदेखाएको भने । वडामा शिक्षाका लागि १० लाख आफुले छुट्याइएको बताए ।

हेल्थ पोस्ट ईन्चार्ज अमित कुमार चौधरीले स्थानिय जनताको लागि सहज स्वास्थ्य सेवा दिने गरि काम भएको बताए । उनले सरकारले निशुल्क दिने औसधि बितरण गर्ने गरेको बताए ।

 

ईलाका प्रहरी कार्यालय महुलिका प्रमुख बरिस्ठ सैइ मुकुन्द बिस्टले महिला हिंसाका घटना बढी आउने गरेपनि सम्झाई बुझाई दुबै पछलाई न्याय दिने प्रयास गरिने गरेको बताए । सामान्य कुटपिट,खान लाउन नदिएको,छिवाछुत र साईबर क्राईमको निबेदन बढी आउने गरेको बताए ।

 

सो अवसरमा टेवा धापाखेल ललितपुर बाट आएकी राधिका परियार,ग्रामीण उत्थान अभियान बाराका कोर्डिनेटर प्रभाकर जयस्वाल लगायत विभिन्न संघ सन्स्थाका प्रतिनिधि समेतको उपस्थिति थियो ।

सार्वजनिक सुनुवाइ तथा सम्बाद कार्यक्रमको सन्चालन तथा सहजीकरण सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर