
वीरगञ्ज । एक छाक पेटभरी खानको लागि शहर बजारमा एक सय रुपयौले पनि पुग्दैन । त्यस माथि कुनै राम्रो होटेलमा गयौ भने पाँच सात सय त लागिनै हाल्छ ।
तर वीरगञ्जमा केवल रु ५० मा पेट भरी खाना पाईन्छ भनेर सुनेपछि धेरैलाई अनौठो लागेको छ । शनिबार वीरगञ्जको मुर्लीमा निम्न आर्थिक अवस्थाका परिवारलाई मध्यनजर गर्दै भरपेट भोजनालय सञ्चालनमा आएको छ ।
सामाजिक संस्था सानो पाइलाले विशेष गरी वीरगञ्ज महानगर भित्र दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्दै आएका श्रमिक एवंम् न्युन आर्थिक अवस्थाका परिवारलाई लक्षित गरेर भरपेट भोजनालय सञ्चालन गरेको हो ।
सुपथ मूल्यमा पौष्टिक खाना खुवाउँने परिकल्पनाका साथ स्थापित भोजनालयको संविधान सभा सदस्य एवंम् नेपाली कांग्रेसका नेता अनिल रुंगटाले उद्घाटन गरे ।
मात्रै ५० रुपैयाँमा भरपेट भोजन गराउँने उद्देश्यले सञ्चालित भोजनालयको उदघाटन गर्दै नेता एवंम् व्यवसायी समेत रहेका रुंगटाले भोजनालयको शुभारम्भले समुदायमा रहेका विपन्न तथा गरिब वर्गहरु लाभान्वित हुँने विश्वास व्यक्त गरे ।
सानो पाइलाका संस्थापक एवंम् प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले कोरोना भाइरस संक्रमणको पहिलो लहरको क्रममा संस्थाले सञ्चालन गरेको फिडिंग नेपाल अभियानको विस्तारित स्वरुप भरपेट भोजनालय रहेको बताए ।
समुदायमा बसोबास गरिरहेका दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब तथा विपन्न वर्गहरुले भोजनमा न्युनखर्च गरी कुल आम्दानीबाट बचत गरेको रकम शिक्षा र स्वास्थ्यमा खर्चिन सक्ने झाको विश्वास छ ।