कलैया । बाराका पत्रकार नुर आलम बादशाहले आफूमाथि निर्घात कुटपिट सहित ज्यान मार्ने धम्की समेत आएको बताएका छन ।
शनिबार बेलुकी ५ः३० बजेको समयमा समाचार संकलन गर्न आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहा गएको समयमा गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारी र उनका लठैत गुण्डाहरुले आफूलाई ज्यान मार्ने उद्देश्यले अध्यक्षको कार्यकक्षमा बोलाई निर्घात कुटपिट गरेको आरोप लगाएका छन् ।
आफूलाई पहिले देखि गाउँपालिकाको सूचनाबाट बन्चित गराउदै आएको बादशाले बताएका छन् । कुटपिटबाट घाइते भएका बादसाहको जिल्ला अस्पताल कलैयामा उपचार गराइरहेका बेला सञ्चारकर्मीलाई यस्तो बताएका हुन् । आफूलाई ज्यान मार्ने गरी कुटपिट गरेका समलग्नहरुलाई हदै सम्मको कारबाहीको बादशाहले माग गरेका छन् ।
बादशाहले गाउँपालिकाको एम्बुलेन्स चालक ड्युटीमा नरही राजनीतिक दलको कार्यकर्ता भेटघाटमा सहभागी हुन बिरगंज गएको भन्ने आफूले सूचना प्राप्त गरेपछि सो को सम्बन्धमा सूचना लिन खोज्दा आफूलाई ज्यान मार्ने धम्की सहित निर्घात कुटपिट गरिएको बताउदै न्यायका लागि पहल गर्न नेपाल पत्रकार महासंघ बारा जिल्ला शाखासँग आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयसँग माग गरेका छन् ।
यता गाउँपालिका अध्यक्षसँग यस विषयमा बुझ्न खोज्दा गाउपालिकाको एम्बुलेन्स चालक शेख सर्फुद्दिन खाना खान गएको बेला आएर किन बाहिर गएको भन्दै बादसाहले अपशब्द प्रयोग गरेको बताए । एम्बुलेन्स चालक सर्फुदिन र बादसाह एउटै बुवा र दुईटा आमाका छोरा आफ्नै दाजुभाइ भएको र पहिले देखिको घरायसी झगडाका कारण यो समस्या आएको बताए ।
अध्यक्षले दुबै पक्षलाई गाउँपालिकामा बसाएर छलफल गरिरहेका बेलामा बादसाह पक्षबाट एक जनाले मुख छाडेर गाली गरेपछि दुबै पक्षबीच सामान्य झगडा भएको र आफूले पनि दुबै पक्षलाई झगडा नगर्न भनी आग्रह गरेर छुट्टाए पनि बादशाहले आफूलाई राजनीति पुर्वाग्रह राखेर बदनाम गराउन मेरो नाम उचालेको आरोप लगाए ।
अध्यक्षले घटना स्थलमा उपस्थित अन्य धेरै सज्जन रहेकोले सत्य तथ्य उँहाहरुसँग पनि बुझ्न आग्रह गरेका छन । बादसाह स्थानीय चुनावमा पराजित भएको र पत्रकारिताको आडमा हरपल आफूहरुलाई बदनाम गर्न लागेको भन्दै अध्यक्ष अन्सारीले यो तर्फ पत्रकार महासंघको समेत ध्यान जान जरुरी भएको बताए । यता झगडामा घाइते एम्बुलेन्स चालक सर्फुदिनको बिरगंज हेल्थ केयरमा उपचार भइरहेको जनाईएको छ ।