जनकपुरधाम । प्रदेश २ सरकारले नेपाल प्रहरीलाई सडक डिभाइडर उपलब्ध गराएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै सडक डिभाइडर हस्तान्तरण गरेको हो ।
मंगलवार एक कार्यक्रमकाबीच ट्राफिक व्यवस्थापनलाई सुदृढ पार्न प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले प्रहरी प्रदेश कार्यालय जनकपुरधामका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई हस्तान्तरण गरेका हुन् । ४८ लाख ५३ हजार १ सय ६५ मूल्य बराबरको साना तथा ठुला गरि ४०० सय भन्दा बढी सडक डिभाइडर प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
प्रदेश २ को ८ वटै जिल्लाका मुकाममा भिडभाड तथा सवारीसाधनको चापलाई नियन्त्रित गर्न र थप व्यवस्थित बनाउन तत्काल मुख्य सडकमा डिभाइडर राख्न मन्त्री यादवले निर्देशन दिनुभएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव दीपककुमार दास, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ, यातायात कार्यालय र सडक कार्यालयका प्रतिनिधि, स्थानीय प्रहरी र ट्राफिक लगायतको उपस्थिति रहेको थियो ।