कलैया । धार्मिक र सांस्कृतिक महत्व बोकेको प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत आज भगवान राम र सीताको प्रतिकात्मक विवाह गर्न लागिएको छ । त्रेता युगमा आजकै दिन भगवान राम र सीताको विवाह भएको मान्यताअनुसार आज जनकपुरधाममा राम र सीताको प्रतिकात्मक विवाह गर्न लागिएको हो ।
विवाहपञ्चमीका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सीताराम स्वयम्वर र विवाह समारोह आयोजना गर्न लागिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास बैष्णवले जानकारी दिनुभयो । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट दिउँसो सीताराम स्वयम्बरका लागि बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहसानमा राखी रङ्गभूमिमा पु¥याइन्छ, भने सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा लगिन्छ ।
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिकविधि सम्पन्न भएपछि सीता र रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा स्थानीयका साथै सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गरेका छन् । यसैबीच विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको ठूलो घुइँचो लागेको छ । जानकी मन्दिरमा पूजापाठ र राम सीताको विवाह हेर्न ठूलो सङ्ख्यामा नेपाल तथा छिमेकी मूलुक भारतबाट श्रद्धालु आएका छन् । अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण विवाहपञ्चमी महोत्सव नभएका कारण यसवर्ष करिब पाँच लाखको हाराहारीमा श्रद्धालुले दर्शन गर्ने अनुमान गरिएको छ ।
विवाह पञ्चमीका अवसरमा हुने भिडभाडलाई दृष्टिगत गरी जनकपुर उपमहानगरपालिकाले नगरक्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन बिदा दिएको छ । प्रदेश २ सरकारले पनि आज प्रदेशभरी सार्वजनिक सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमीको अवसरमा हुने भिडभाडमा आपराधिक घटना हुन नदिन र शान्ति सुरक्षा कायम राख्न जनकपुर नगरक्षेत्रभित्र एक हजार ३०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।