कलैया । कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो संक्रमण)लाई रोक्न जिल्ला प्रशासन कार्यालय पर्साले भोलि विहिवार देखि २५ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र को बसेको बैठकले माघ ५ गते राती १२ बजे देखि अर्को सूचना जारी नभए सम्म स्मार्ट लकडाउन लगाउने निर्णय गरेको हो ।
आदेशानुसार घर बाहिर निस्कँदा वा सार्वजनिकस्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पर्सा जिल्ला प्रशासनले आग्रह गरेको छ ।
आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान (होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने उल्लेख छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ ।
राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ ।
भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ ।