
कलैया । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाराले आज पनि प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल बाराले बिगत तीन दिन देखि सदरमुकाम कलैयामा प्रदर्शन गर्दै आएका छन् । ऊनीहरुले आज पनि कलैयामा विभिन्न माग राख्दै प्रदर्शन सहित मसाल जुलुस समेत निकालेको थियो । राष्ट्रिय युवा संघ बाराका अध्यक्ष पुरुषोत्तम साहको नेतृत्वमा भएको प्रदर्शनमा भौतिक योजनामन्त्री रेणु यादवले दिएको अभिव्यक्ति हिंसात्मक द्वन्द्व बढाउने अभिव्यक्ति भएको कारण राजीनामा माग गरिएको थियो ।
प्रदर्शनमा सहभागीले ‘अराजक मन्त्री यादवलाई बर्खास्त गर’, ‘स्थानीय तह चुनाव घोषणा गर’लगायतका नारा लगाउँदै आज पनि सदरमुकाम कलैयामा प्रदर्शन गरेका हुन् । आजै बेलुका मसाल जुलुस समेत निकालिएको थियो । मसाल जुलुसमा प्रहरी संग घम्साघम्सी समेत भएको थियो ।
केहि दिन अघि बलिदानी दिवसको अवसरमा रौतहटमा मन्त्री यादवले गौर नरसंहार दोह्याउने र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन । राष्ट्रिय युवा संघ बाराले यीनै विषयमा प्रदर्शन गर्दै सदरमुकाम कलैया को भरत चौकमा प्रधानमन्त्री देउवा को पुतला जलाएका थिए ।