
कलैया । वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सरकारको निर्णय लाई ध्यानमा राख्दै पर्सामा आवश्यक तयारी सुरु गरिएको छ ।
पर्सामा रहेको मतदान केन्द्रहरूको स्थलगत अनुगमन र अवलोकन गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी रमेश ढकालको नेतृत्वमा निर्वाचन कार्यालय तथा सुरक्षाकर्मीसहितको संयुक्त टोलीले जिल्लाका १४ वटै पालिकामा रहेका मतदान केन्द्रहरूको स्थलगत अनुगमन तथा अवलोकन गर्ने कार्य प्रारम्भ गरेको छ ।
टोलीले आज पर्साको छिपहरमाई गाउँपालिकामा रहेका ८ वटा मतदान केन्द्रमा स्थलगत निरीक्षण तथा अवलोकन गरेको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रञ्जीता झाले बताए । अनुगमनको क्रममा मतदान स्थलको भौतिक अवस्था, बाटो, बाउन्ड्री वाल, शौचालयलगायतको बारेमा टोलीले जानकारी लिएको हो ।
अनुगमनको क्रममा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, नेपाली सेनाका प्रमुख मनोज कार्की, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक लगायतको सहभागिता रहेको थियो ।