
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु एक लाख पाँच हजार ५०० पुगेको छ । केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख दुई हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४०ले बढेर रु एक हजार ४५० पुगेको महासङ्घले जनाएको छ । रासस