
कलैया । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन को लागि तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको छ ।गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारी अघि बढेपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो ।वैशाख १ गतेसम्ममा उम्मेदवारको टुंगो लगाइसक्न कांग्रेसले निर्देशन दिए पनि फेरि तत्काल त्यो प्रक्रियालाई स्थगित गर्न निर्देशन गरेको हो ।स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ । विधानअनुसार कांग्रेसले मनोनयन गर्नुभन्दा एक महिना अगावै उम्मेदवारको टुंगो लगाइसक्नुपर्ने थियो । विधानअनुसार वडाध्यक्ष र सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार जिल्ला संसदीय समिति र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश संसदीय समितिहरूले टुङ्गो लगाउने व्यवस्था छ ।