बिश्वास सम्बादाता
कलैया, साउन २६
बाराको परवानीपुर गाउँपालिकाले लोकप्रिय योजना सार्वजनिक गरेको छ । गाउपालिकाले सो योजना अनुसार स्थानिय तहमा रहेका उद्योग, व्यवसाय तथा कलकारखानाहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न आग्रह गर्दै दर्ता भएका उधोगलाई करमा बिशेष छुट दिने योजना अगाडी सारेको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै परवानीपुर गाउपालिका भित्र सञ्चालित उद्योग, व्यवसाय तथा कलकारखानाहरूलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्दै वार्षिक व्यवसाय कर चुक्ता गर्न आग्रह समेत गरेको छ ।
सुचनामा ‘परवानीपुर गाउँपालिका क्षेत्रभित्र रहेका उद्योग, व्यवसाय तथा कलकारखाना सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले गाउँपालिकामा अनिवार्य व्यवसाय दर्ता गरी व्यवसाय इजाजत प्रमाण पत्र लिनु पर्ने र वार्षिक रूपमा व्यवसाय कर तिर्नु सबैको दायित्व हुन आउँने उल्लेख गरेको छ ।
कार्यालयमा व्यवसाय दर्ता गराएका व्यवसायीहरूले चालू आर्थिक वर्ष भरीको व्यवसाय कर एकमुष्ट रूपमा बुझाए लाग्ने शुल्कमा ४० प्रतिशत छुट समेत दिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारले जनाएका छन । ‘आर्थिक वर्ष लागि आर्थिक ऐन २०८०/०८१ को दफा १९ बमोजिम चालु आर्थिक वर्ष २०८०/०८१ को व्यवसाय कर अग्रिम रूपमा आश्विन मसान्तसम्म एकमुष्ट बुझाएमा व्यवसायीलाई व्यवसाय करमा लाग्ने शुल्कमा ४० प्रतिशत छुटको व्यवस्था रहेकोले तोकिएको समय भित्र व्यवसाय कर बुझाई यो अवसरको फाइदा लिन रौनियारले बताए ।
दश जनाभन्दा धेरै रोजगारी सृजना गर्ने उद्योग, व्यवसाय तथा कलकारखानाले त्यसको ५० प्रतिशत गाउँपालिका क्षेत्रका स्थानीय बासिन्दालाई रोजगारी दिएको प्रमाण पेस गरेमा व्यवसाय करमा थप १५ प्रतिशत छुट प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रौनियारले जानकारी दिए ।
यता स्थानीय युवाहरूलाई रोजगारीमा प्राथमिकता दिने उद्योग, व्यवसाय तथा कलकारखानालाई गाउँपालिकाले करमा थप सहुलियत पनि दिने आफ्नो पुर्व चुनावी योजना अनुसार कार्य गरेको गाउपालिका अध्यक्ष राम छेत्री प्रसाद कुर्मिले जनाएका छन । कुर्मिले गाउपालिका भित्रका सबै नागरिकलाई सुखी सम्पन्न र स्वस्थ जीवन यापन गर्ने खालका योजना ल्याउने र सबैको आवस्यकता पूरा गर्ने आफुहरुको कर्तब्य भएको बताएका छन ।