महोत्तरीमा पदीय मर्यादा विपरीत काम गर्ने ३२ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत रहेका ३२ जना प्रहरी कर्मचारीलाई कारबाही गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।
एक जना प्रहरी वरिष्ठ नायब निरीक्षक, १ जना प्रहरी नायब निरीक्षक, ४ जना प्रहरी सहायक निरीक्षक, २ जना प्रहरी वरिष्ठ हवलदार, ८ जना प्रहरी हवल्दार, ८ जना प्रहरी सहायक हवल्दार, ७ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी कारबाहीमा परेका छन्। कारबाहीमा परेका प्रहरी कर्मचारीहरुलाई नसिहत, बढुवा रोक्का, निलम्बन, चेतावनी दिइएको हो।
यस्तै, यस अवधिमा राम्रो काम गर्ने ९२ जना प्रहरी कर्मचारीलाई पुरस्कृतसमेत गरिएको प्रवक्ता जैसवारले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५ जना, इलाका प्रहरी कार्यालय बर्दिबासका २४, इलाका प्रहरी कार्यालय गौशालाका ४३ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।







