युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् ।
हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् ।
इजरायलको सन् १९७८ को लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनीफीलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा ‘जानीजानी’ आक्रमण गरेको आरोप लगाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई ‘मानव ढालको’ रूपमा प्रयोग गरेको बताउँदै दक्षिण लेबनानमा तैनाथ शान्ति सैनिकहरूलाई ‘खतराको बाटोबाट’ हटाउन आह्वान गरे ।
युनीफीलले आफ्ना स्थानहरू छाड्न अस्वीकार गरेको छ । एएफपी







