पर्सा जिल्लामा यहि माघ २२ गतेदेखि सुरु हुने महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पी.भी.खोप अभियानका तयारी अन्तिम चरणमा पुगेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा स्वासथ्य कार्यालय पर्साले आयोजना गरेको जिल्ला खोप समन्वय समिति,सञ्चारकर्मी र सरोकारवालासंगको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण सिंहले माघ २२ देखि फागुन ६ गतेसम्म जिल्लाका १४ वटै पालिकामा चल्ने अभियानमा ३८ हजार ५ सय ५७ जना बालिका र किशोरीहरुलाई एच.पी.भी.खोप लगाइने जानकारी गराए । उक्त अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्ममा अध्ययनरत तथा विद्यालय नजाने १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने उनले बताए ।
उनका अनुसार खोप अभियान पर्सा जिल्लामा दुई चरणमा सञ्चालन हुने छ । माघ २२ देखि माघ २८ गतेसम्म सञ्चालन हुने पहिलो चरणमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १६ सम्ममा,पर्सागढी र पोखरिया नगरपालिका,पटेर्वा सुगौली ,जिराभवानी,सखुवा प्रसौनी र जगरनाथपुर गाँउपालिकामा बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने छ ।
यस्तै माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने दोस्रो चरणको अभियानमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ देखि वडा नम्बर ३२ सम्म,बहुदरमाईनगरपालिका,पकाहा मैनपुर,कालिकामाई,धोबिनी,बिन्दवासिनी,छिपहरमाई र ठोरी गाँउपालिकामा लक्षित उमेर समुहका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने साहले जानकारी दिए ।
खोप अभियानका लागि जिल्लामा रहेका १४ वटै पालिकाका ११२ वटा वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा गरी ३४५ स्थानमा खोप केन्द्र स्थापना गरिने छ । तीसबैमा गरि ६ सय ९० भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी गराए ।







