प्रीयन्का दास
कलैया,पुष ११
नेपालको प्रवेश द्वार आर्थिक नगरी पर्साको वीरगन्जमा पहिलो पटक भोजपुरी सिने अवार्डको आयोजना हुने भएको छ । वीरगन्ज महानगरको नगर सभा गृहमा लायन्स क्लब बीरगंजको स्वर्ण जयन्ती समारोह तथा नमस्ते इन्टरटेनमेन्ट नेपालसँगको सहकार्यमा पहिलो पटक भोजपुरी सिने अवार्ड आयोजना हुन लागेको जानकारी गराईएको छ । अवार्ड सम्पन्न गर्न करिब २७ लाखको लागत लाग्ने अनुमान गरिएको जनाईएको छ ।
लायन्स क्लब अफ वीरगन्जको स्वर्ण जयन्तीको अवसरमा यहि पुष १३ गते वीरगन्जमा सम्मान तथा भोजपुरी सिने अवार्डको आयोजना गर्न लागिएको लायन्स क्लब अफ वीरगन्ज स्वर्ण जयन्ती समारोहका संयोजक अशोक वैदले बिश्वास एफएमलाई जानकारी गराएका छन । स्वर्ण महोत्सव तथा सिने अवार्ड मूल आयोजक समितिले आज गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो ।
नेपालमा सबैभन्दा पूरानो अन्तराष्ट्रिय संस्था लायन्स क्लब अफ वीरगन्जले सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा काम गर्दै आएको र मनोरञ्जन क्षेत्रका कलाकारहरुको सम्मान गरी उनीहरुको अभिनय कलालाई थप प्रोत्साहन गर्नका लागि लायन्स क्लब अफ वीरगन्जको स्वर्ण जयन्तीको अवसरमा सम्मान तथा सिने अवार्डको आयोजना गर्न लागिएको संयोजक वैदले बताएका छन ।
वीरगन्जमा आयोजना गर्न लागिएको सिने अवार्डमा नेपाल चलचित्र वोर्डमा दर्ता भएका चलचित्रमा अभिनय गर्ने कलाकारहरुलाई लक्षित गरी सम्मान प्रदान गरिने नमस्ते नेपाल इन्टरटेण्मेण्टका प्रमुख भोजपुरी नायक प्रदेशी साहले सो अवसरमा जानकारी गराएका हुन । भोजपुरी भाषाको बाहुल्यता रहेको वीरगन्जमा पहिचानको लागि पनि सम्मान तथा सिने अवार्डको आयोजना गर्न लागिएको साहले बताए । अवार्ड कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष तथा नायक भुवन केसी, निर शाह लगायतका कलिउडका विशिष्ट कलाकारहरुको उपस्थिति रहने जनाईएको छ ।
ऐतिहासिक फिल्म उद्योगमा उत्कृष्ट योगदान दिएका भोजपुरी कलाकारहरुलाई सम्मान गरी वीरगन्जको पहिचान स्थापित गर्ने पहिलो प्रयास रहेको नायक प्रदेशी साहले बताए । वीरगन्जका धेरै भोजपुरी कलाकारहरुले योगदान गरेपनि उनीहरुले समाजमा अहिलेसम्म सम्मान पाउन नसकेको र भारतीय बजारमा नेपाली भन्ने र नेपाली बजारमा भोजपुरी भाषी कलाकारहरुको योगदानको खासै कदर नगरेपछि लायन्स क्लब अफ वीरगन्जको पहलमा कार्यक्रमको आयोजना गर्न लागिएको साहले सो अवसरमा जानकारी गराए ।
स्वर्ण जयन्ती र सिने अवार्डका लागि आवश्यक तयारीहरु भव्य रुपमा भईरहेको र सफल पार्नका लागि सम्पूर्ण लायन्स सदस्यहरु लागि परेको लायन्स क्लब अफ वीरगन्जका पूर्व अध्यक्ष छेडुप लामाले बताए । कार्यक्रमका लागि वीरगन्ज महानगरपालिकाले पनि सहयोग गर्ने आश्वासन दिएको आयोजकले जनाएको छ ।