सम्बादाता
वीरगञ्ज,चैत ३०
नेपाली मुस्लिम समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । मुस्लिम धर्मावलम्बीमाथि आक्रमण गर्ने खालका खबर सम्प्रेषण गरेकोमा आपत्ती जनाउँदै मुस्लिम समाज पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसााललाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाली मुस्लिम समुदायले सामाजिक हित, राष्ट्रहित, लोकतन्त्र र परिवर्तनका लागि खेलेको भूमिकालाई नजरअन्दाज गर्दै सरकारले पनि मुस्लिमसँग सौतेलो व्यवहार गरेको ज्ञापन पत्र बुझाउन गएका मुस्लिम अगुवा जफर अंसारीले बताए ।
रोजाको अवसरमा सामाजिक सञ्जालमा आपत्तीजनक कुराहरु लेखेर मुस्लिम समुदायलाई आँच आउने काम गरेकोमा ज्ञापन पत्रमार्फत आपत्ती जनाउँदै उनीहरुले कारवाहीको लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
२८ चैतमा सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको ज्ञापन पत्रमा उल्लेख छ । ‘संविधानको भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको उल्लंघन भएको छ । प्रत्येक नेपालीले वर्तमान संविधानलाई हृदयले मानेको अवस्थामा कमलनारायण दास संविधानको खिलाफ जानुभएको छ’, ज्ञापन पत्रमा लेखिएको छ । निजको समाचारले वर्तमान नेपाली समाजमा कलह र अशान्तीको वातावरण सृजना गरेको सञ्चारकर्मी आविद हुसैनले बताए ।
मुस्लिम समुदायका ईश्वरिय दुत पैगम्बर मुहमद स.को चरित्र हत्या गर्ने व्यक्तिउपर आवश्यक कारवाही गर्न उनले गृहमन्त्रीसँग माग गरेका छन् । साथै मुस्लिम समुदायको संवैधानिक जिउज्यानको सुरक्षा गर्न, तथा मस्जिद, मदर्सा लगायतका धार्मिक स्थलको सुरक्षा गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
शान्तीपूर्वक बाँच्न पाउने तथा आस्थाअनुसारको कार्य गर्ने वातावरणको सृजना गरिदिन पनि माग गरिएको छ । ज्ञापन पत्र बुझाउनका लागि जफर अंसारी, आबिद हुसेन, मेहबुब अलि, रेयाज अहमद, शेष मन्सुर, अनवर हुसेन, अब्बास मंसुरी लगायत उल्लेख्यको उपस्थिती रहेको थियो ।
यसै विषयमा मुस्लिम आयोगको पनि ध्यानाकर्षण भएको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै कमलनारायण दासको नामबाट भएको पोस्टप्रति आपत्ती जनाएका छन् । मुस्लिम समुदायको पवित्र रमजान महिनामा पर्ने रोजालाई इंगित गर्दै मुस्लिम समुदाय, ईस्लाम धर्म र ईस्लाम धर्मका प्रवर्तक समेतलाई अनादर र अपमानित गर्ने नियतले झुठा र भ्रामक तथा कपोकल्पित कुराहरु पोस्ट गरी धार्मिक र सामाजिक सद्भाव बिथोलेको आयोगको विज्ञप्तीमा उल्लेख छ ।
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बल्याउनेलाई कानुनी कारवाही गर्न पनि विज्ञप्तीमार्फत माग गरिएको छ ।