साजिर मन्सूर
कलैया,बैशाख ३
बाराका मुस्लिम धर्मावलम्बीहले समाजमा धार्मिक सहिष्णुता र सामाजिक सदभाव बिगार्न खोज्नेहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
नेपाली मुस्लिम समाज बाराले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा गृहमन्त्री लाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । जिल्ला प्रशासन कार्यालय बारामा पुगेका करिब २ सयको संख्यामा मुस्लिम समाजका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ।
केहि समय यता मुस्लिम धर्मावलम्बीमाथि आक्रमण गर्ने खालका खबरहरु विभिन्न माध्यम मार्फत आइरहेकाले त्यसमा संलग्नहरुलाई पक्राउ गरी कानूनी कारबाही गर्नुपर्ने माग गरिएको मुस्लिम अगुवा अब्दुल रहमान रेयाजिले बताए ।
उक्त ज्ञापनपत्रमा लेखिएको छ– नेपालका मुस्लिम समुदायले सामाजिक हित, राष्ट्रहित, लोकतन्त्र र परिवर्तनका लागि खेलेको भूमिकालाई नजरअन्दाज गर्दै सरकारले पनि मुस्लिमसँग सौतेलो व्यवहार गरेको छ ।रोजाको अवसरमा सामाजिक सञ्जालमा आपत्तीजनक कुराहरु लेखेर मुस्लिम समुदायलाई अपमानित गरिएको छ ।२८ चैतमा सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको छ ।दासको अभिव्यक्तिले वर्तमान नेपाली समाजमा कलह र अशान्तीको वातावरण सृजना गरेको छ ।
तसर्थ मुस्लिम समुदायका ईश्वरिय दुत पैगम्बर मुहमदको चरित्र हत्या गर्ने व्यक्तिउपर आवश्यक कानूनी कारबाही गर्न प्रधानमन्त्री एवम गृहमन्त्रीसँग माग गरिएको ज्ञापनत्रप बुझाउन गएको टोलीमा सहभागी मुस्लिम अगुवा अन्वर अन्सारीले बताए । मुस्लिम समुदायको जिउ ज्यानको सुरक्षा गर्न तथा मस्जिद, मदर्सा लगायतका धार्मिक स्थलको सुरक्षा गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको उनले बताए ।
ज्ञापन पत्र बुझ्दै सिडिओ घिमिरेले नेपालमा हरेक नागरिकलाई सम्बिधानले पुर्ण अधिकार दिएको र सो को प्रत्याभूत गर्न आफुहरुले कुनै कसर बाकी नराख्ने बताए । समाजमा यस्तो धार्मिक बिद्वेस फैलाउने जो कोहिलाई पनि कानुनले उन्मुक्ति नदिने बताएका छन ।







