सिरहाको लहान नगरपालिका-१७ हरिपुर टोलमा साेमबारराति ६ वटा घरमा लुटपाट भएको छ । ११ बजे रातिदेखि डाकाहरुले बम पड्काएर लुटपाट गरेका हुन् ।
बम पड्किंदा स्थानीयहरु घाइते भएका छन् । स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको हाे ।
डाकाहरुले नगद, गरहना लुटेका हुन्। डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ ।
अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवकाे स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
डाकाबाट पीडित भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि लहान नगरपालिकाबाट एक/एक लाख रुपैयाँ उपलब्ध गराउने मेयर महेश चौधरीले जनाउनुभयो ।
मेयर चौधरीले गाउँमै पुगेर घटनाबारे जानकारी लिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।