साजिर मन्सूर
कलैया,जेष्ठ २
जिल्ला प्रशासन कार्यालय बाराका प्रजिअ शशिधर घिमिरे मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई आज नेबि संघ बाराले विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती बारा को नेतृत्वमा बाराका सिडिओ घिमिरेलाई ज्ञापनपत्र बुझाइएको नेबि संघका केन्द्रिय सदस्य नेजामुदिन अन्सारीले जानकारी गराएका छन । नेपाल बिद्यार्थी संघ बाराका अध्यक्ष समीर चौधरी द्वारा हस्ताक्षरित बिग्यप्तिमा निम्न मागहरु समावेश गरिएको अन्सारीले जानकारी गराएका छन ।
मागहरु:-
१. सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न माग गर्दछौं ।
२. सहकारी ठगीमा संलग्न सहकारी सँस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न माग गर्दछौँ ।
३. विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एंव संशोधन सहित विद्यालय शिक्षा विधेयक – २०८० तत्काल लागू गर ।
४. उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न माग गर्दछौ ।
ज्ञापन पत्र बुझदै प्रजिअ घिमिरेले पत्र संबंधित निकायमा यथासक्य छिटो पठाउने आश्वासन दिएका छन ।