देशका धेरै ठाउँमा पानीको समस्या बढेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँगको सहकार्यमा नेपाल पानी सदुपयोग फाउन्डेशनले गरेको अध्ययनअनुसार चुरे क्षेत्रमा सबैभन्दा बढी ७९ प्रतिशत, हिमाली क्षेत्रमा ६४ प्रतिशत र पहाडी क्षेत्रमा ४६ प्रतिशत पानीका मुहान सुकेका छन् ।
यस्तै पहाडी क्षेत्रमा पर्ने तीन सय पालिकामा गरिएको अध्ययनले ७४ प्रतिशत पालिकामा पानीका मूल सुक्ने समस्या रहेको देखाएको छ । पहाडी क्षेत्रका ५८ प्रतिशत मूल सरेको पाइएको छ ।
प्रतिवेदनअनुसार सडक तथा भवन निर्माणका कारण ५१ प्रतिशत मूल सुकेका छन् । यस्तै भूकम्प, वन फँडानी, जलवायु परिवर्तन, बाढीपहिरो पनि मूल सुक्नुको कारण रहेको फाउन्डेशनले जनाएको छ ।
परम्परागत पोखरी मासिनु, जलविद्युत् आयोजनाका सुरुङ, इनार र डीप बोरिङ लगायत पनि पानी सुक्नुका मानवीय कारण रहेको उल्लेख छ । त्यस्तै अतिवृष्टि, अनावृष्टि र तिनबाट सिर्जित, बाढी पहिरो, खडेरी र भूकम्पलाई प्राकृतिक कारणका रूपमा लिइएको छ ।
तराई मधेशमा जमिनमुनिको पानी पनि सुकेको छ । तराई मधेशका जिल्लामा चापाकलमा पानी सुकेकोले पानी नपाएको भन्दै २५ दिन पैदल हिँडेर काठमाण्डौका आएका सर्वसाधारण २५ दिनदेखि माइतिघर मण्डलामा धर्ना बसिरहेका छन् ।
पछिल्ला वर्षहरूमा लामो खडेरीका कारण पानीको समस्या झनै बढ्दै गएको छ । यसपालिको हिउँदमा पनि लामो खडेरी परेका कारण यस बेला तराई मधेशसहित धेरै ठाउँमा पानीको समस्या रहेको छ । जलवायु परिवर्तनका कारण पनि पछिल्ला वर्षहरूमा खडेरीको समस्या बढ्दै गएको विज्ञहरू बताउँछन् ।







