मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त हुनुहुने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई मधेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गर्नुभएको छ।
मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उहाको नियुक्ति प्रदेश प्रमुखले शुक्रबार गर्ने तयारी छ । शुक्रबार नै उहाँको शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुनुहुन्छ । उहाँले सिंघानिया युनिभर्सिटी भारतबाट पीएचडी गर्नुभएको छ। उहाँ सडक विभागको हेबी इक्विपमेन्ट डिभिजन काठमाडौंमा कार्यरत हुनुहुन्थ्यो । उहाँमा संघीय लोक सेवा आयोगको रोस्टर विज्ञको रुपमा काम गरेको अनुभव पनि छ ।
गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोक सेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो । तीन सदस्य पदाधिकारी हुने प्रदेश लोकसेवा आयोगमा अन्य एक सदस्य पद अझै रिक्त छ ।
मधेश लोक सेवा आयोग पदाधिकारीविहीन हुँदा कर्मचारी नियुक्ति सिफारिस, नतिजा प्रकाशन लगायतका काम पाँच महिनादेखि ठप्प छ ।







