बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन उग्र हुँदै गएको छ । प्रदर्शनबिच पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको दिनमा सोमबार एकै दिन १३५ जनाको मृत्यु भएको छ ।
प्रदर्शनकारीहरूले अस्पताल, होटेल र सडकमा आगजनी गरेका थिए । यसबाहेक हसिनाको पार्टी आवामी लिगका सांसद र नेताका घरमा तोडफोड भयो । कयौँ जिल्लामा आवामी लिगका नेताको हत्या गरिएको छ । हिंसापछि पूरै देशमा अराजकता र अशान्तिको स्थिति छ ।
सञ्चारमाध्यमका अनुसार ढाकाबाहिर सावर र धमराई क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबिच भएको गोलीबारीमा १८ जनाको मृत्यु भएको थियो । अश्रुग्यास र गोली प्रहारबाट अरु ५० जना घाइते भएका छन् ।
उत्तरा क्षेत्रमा प्रहरी चौकीले प्रदर्शनकारीमाथि गोली चलाउँदा अरु १० जनाको मृत्यु भएको थियो । गोली चलेपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले प्रहरी चौकी घेरा हालेर आगजनी गरेका थिए । ढाकाका विभिन्न अस्पतालले ७८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
हबिगञ्जमा प्रदर्शनकारी र प्रहरीबिच भएको हिंसात्मक झडपमा ६ जनाको मृत्यु भएको छ । यस क्रममा एक सय जना घाइते भए । प्रहरीको गोली लागेर तंगेलमा दुई र धनबारीमा एक जनाको मृत्यु भएको थियो ।
त्यहाँ अरु ४० जना घाइते भएका छन् । लक्ष्मीपुर क्षेत्रमा भएको हिंसामा ११ जनाको मृत्यु भयो भने ३५ जना घाइते भएको बताइएको छ । पूर्व युवा नेताको घर अगाडि सात जनाको शव भेटिएको थियो । कुश्तियामा एक किशोर सहित ६ जनाको मृत्यु भएको छ । सतखीरामा पनि तीन जनाको मृत्यु भएको छ ।







