बारा जिल्ला अन्तर्गतका विभिन्न स्थानमा अवैध रूपमा सामान ओसारपसार गरेको अभियोगमा प्रहरीले ३८ लाख ७३ हजार ४ सय ५७ रुपैयाँ बराबरको सामान सहित दुई ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिल विजक नमिलेको तथा स्रोत खुलाउन नसकेको समान सहितका ट्रकहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ ।
बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार, ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ बाट ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना ३ ख ८१०३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा करीब ३८ लाख १५ हजार ४५७ रुपैयाँ बराबरको किराना सामान, पेन्टस, स्पेयर पार्टस र मोटर पार्टस सहितको समान फेला परेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।
यसैगरी, इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको अर्को टोलीले पनि भन्सार छलीका सामग्री बरामद गरेको छ । पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको जि ए ए ००७१ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा ५८ हजार रुपैयाँ बराबरको बुन्दी दाना र विभिन्न किसिमका मिठाइहरू फेला परेको सापकोटाले बताए ।







