आर्थिक मन्दीलगायतका कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा ६ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् ।
आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो । आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताउनुभयो ।
मकवानपुरमा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ । आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ गरी सात सय एक नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताउनुभयो । यसअघिको वर्षमा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग व्यापार दर्ता भएका थिए ।
नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा तीन करोड २२ लाख ४९ हजार नौ सय १० रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताउनुभयो ।







