कलैया । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ निवासी ब्लड क्यान्सर पीडित बिजय साहले प्रसौनी गााउँपालिका प्रमुखबाट आर्थिक सहयोग पाएका छन् ।
ब्लड क्यान्सर सँग विगत लामो समय देखि जुधिरहेका साहलाई प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ता र उपाध्यक्ष गिता साहले आफ्नो निजी खर्चमा २६ हजार आर्थिक सहयोग गर्नु भएको हो ।
आर्थिक सहयोग संगै ४ बोरा चामल पनि दिइएको थियो । सहयोग गर्न अध्यक्ष र उपाध्यक्ष स्वम पीडितको घरमा पुग्नु भएको थियो । सो अवसरमा गाउँपालिका वडा अध्यक्ष बैजनाथ शाह, वडा सदस्य , कर्मचारीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
उपचारमा आर्थिक समस्या भएका साहको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक संजालमा सूचना प्रशारण भएपछि विभिन्न दाताहरुबाट सहयोग पाउने कार्य जारी छ । पीडित साह कस्मेटिकको पसल सञ्चालन गरेर आफ्नो बुवा आमा, स्वास्नी र तीन जना बच्चाहरुको लालनपालन गर्दै आएका छन् । साहको बुवा पक्षघात भई नाजुक अवस्थामा रहेका छन् भने आमा २० वर्ष देखि मधुमेहले पीडित छिन् । साहलाई कलैयाको क्रिएटिभ नेपालले समेत नगद ११ हजार ५ सयको सहयोग गरेको छ ।