क्यानडाका प्रहरी प्रमुख माइक डुहेमले खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार संलग्न रहेको बलियो प्रमाण देखिएको दाबी गर्नुभएको छ । भारतमा खालिस्तान राज्यको माग गर्ने निज्जरलाई भारतीय खुफिया एजेन्सीले क्यानडामै पुगेर हत्या गरेको प्रसस्तै प्रमाण रहेको प्रहरी प्रमुख डुहेमले बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
क्यानडाको सरकारी समाचार च्यानल सीबीसीलाई दिएको अन्तर्वार्तामा रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का प्रमुख माइक डुहेमले भन्नुभएको छ, ‘हामीसँग खुफिया जानकारी छैन तर यस मामलामा भारतको भूमिका उच्च स्तरमा छ भन्ने बलियो प्रमाण छ ।’ आफूले उल्लेख गरेका केही प्रमाणहरू न्यायिक प्रक्रियाको क्रममा बाहिर आउने भन्दै माइक डुहेमको भनाइ छ ।
भारतका उच्च स्तरका मानिसहरु क्यानडाको भूमिमा हिंसा र आतङ्कको अभियानमा संलग्न रहेको पनि उहाँको दाबी छ । भारतले अहिलेसम्म क्यानडाका प्रहरी प्रमुख माइक डुहम्सले लगाएको आरोपको जबाफ दिएको छैन । तर यसअघि यस्ता आरोपको भारतले ठाडै अस्वीकार गर्दै आएको छ ।
निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीचको सम्बन्धमा दरार आएपछि दुवै देशले कुटनीतिज्ञ निकालासम्मका कदम चालिसकेका छन् । भारतसँगको सम्बन्ध विग्रिएपछि लाखौँ भारतीय विद्यार्थी र कामदारलाई लक्षित गरेर क्यानडाले कडा नियमहरु जारी गरिरहेको छ ।