रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा बुधबार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते छन् ।
जिल्लाको चन्द्रपुर–९ चन्द्रनिगाहपुर–गौर सडक खण्डको इलाका प्रहरी कार्यालय डुमरियाअगाडि चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको बीआर ०५ पीए ६२५६ नम्बरको भारतीय स्कारपियोले गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको लु१२प २९४१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा चालक गुजरा नगरपालिका–५ इसलामपुरका २४ वर्षीय शेख जमालुदिनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । जमालुदिनको दाहिने खुट्टा, शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पाछडि बसेका मजिद मुसलमान गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरिएको डीएसपी राजकुमार राईले बताए । काठमाडौंस्थित बीएण्डबी अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरीले गढीमाई नगरपालिका–४ घर भएका स्कोरपियो चालक कृष्णनन्दन यादवलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी राईले जानकारी दिए ।
सोही स्थानमा ३.प्रदेश २–०३–०१२प ८७६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल चालक गुजरा–५ का २० वर्षीय समदुल अन्सारी र पछाडि बसेका सेख इसरादको अवस्था सामान्य रहेको प्रहरीले जनायो । मोटरसाइकल चालक अन्सारीलाई इलाका प्रहरी चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।
यता चन्द्रपुर नगरपालिका–६ तल्लो बजार स्थित चन्द्रनिगाहपुर–गौर सडक खण्डमा सन्तपुरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा.३४प.४२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री देवाही गोनाही–३ का १६ वर्षीय निकिन्द्रकुमार पटेल घाइते भएका छन् । उनको निधारमा चोट लागेको छ । पटेललाई ठक्कर दिएपछि अनियन्त्रित भई विद्युत्को पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । मोटरसाइकल चालकको सनाखत हुन सकेको छैन । मोटरसाइकल चालकको चन्द्रपुर अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।







