वीरगञ्ज महानगरपालिका-३२ परसवा गाउँबाट अवैध लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले १ किलो १ सय ६० ग्राम गाँजासहित रौतहट कटरिया नगरपालिका-२ का ५५ वर्षीय खेदु पासवानलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी मिलन चोकबाट खटिएको टोलीले शंका लागेर खानतलासी गर्दा पासवानको साथबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ । पक्राउ परेका पासवानलाई नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले गाँजाको स्रोत र यसमा संलग्न अन्य व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको जनाएको छ । लागूऔषध ओसारपसार र कारोबारमा संलग्नलाई कडा कारबाही गरिने प्रहरीको भनाइ छ ।







