पर्सामा बन गस्ती टोलीले तीन थान चौपट (काठ) सहित एक जनालाई नियन्त्रणमा लिएको छ। करिब १५ क्युफिटको तीन थान चौपट सहित पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय, पर्सामा राखिएको छ।
डिभिजन बन कार्यालयका अधिकृत नवनीत मिश्राका अनुसार पक्राउ परेका व्यक्ति पर्सागढी नगरपालिका वडा नं. ४, बड्निहार बजार निवासी ४० वर्षीय जिग्रे शर्मा हुन्। शर्मा सहित तीन जना जंगल क्षेत्रबाट तीन वटा साइकलमा चौपट बोक्दै ल्याइरहेका थिए।
बन गस्ती टोलीले पर्सागढी नगरपालिका वडा नं. ३, रुनीजामर भन्ने स्थानबाट शर्मा सहितको समूहलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। टोलीलाई देखेर दुई जना साइकल र काठ छाडेर फरार हुन सफल भए।
बड्निहार सब डिभिजन बन कार्यालयका जमदार जीत बहादुरको नेतृत्वमा गएको गस्ती टोलीले नियन्त्रणमा लिएका शर्मालाई आवश्यक अनुसन्धान अघि बढाइएको छ। फरार रहेका दुईजनाको पहिचान र खोजीकार्य जारी रहेको बन अधिकृत मिश्राले जानकारी दिएका छन्।
सरकारले बन तस्करी रोक्न कडा कदम चालेको बताइरहेका बेला यस किसिमको कारवाहीले तस्करी विरुद्धको अभियानलाई थप बल पुग्ने विश्वास गरिएको छ।







