अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कठ्ठा जग्गालाई तीन कठ्ठा बनाई किनबेच गर्ने प्रकरणमा संलग्न बाराको मालपोत र नापी कार्यालयका अधिकृत सहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार बिहीबार विशेष अदालतमा मालपोत कार्यालय, बारा र नापी कार्यालय, बाराका अधिकारीसहित अन्य व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा मालपोत कार्यालय, बाराका अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, नापी कार्यालय, बाराका तत्कालीन नापी अधिकृत तथा हाल अवकाशप्राप्त दिनानाथ मिश्र, तत्कालीन सर्वेक्षक तथा हाल नापी कार्यालय, पर्सामा कार्यरत शिवबालक साह, तत्कालीन सर्वेक्षक सुनिल कुमार झा, जितपुरसिमरा–१३ का लेखापढी व्यवसायी जयलाल सहनी, वडा नं. १५ बस्ने जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र रामपति देवी थरुनी रहेका छन् ।

उनीहरूले बाराको साविक डुमरवाना गा.वि.स.–६ स्थित जग्गाको किर्ते गरी क्षेत्रफल बढाई बिक्री गरेको अख्तियारको आरोप छ । प्रारम्भिक श्रेस्तामा ०–१–० जग्गा रहेकोमा किर्ते गरी ०–३–१० कायम गरिएको तथा अर्को ०–२–१० क्षेत्रफल रहेको जग्गालाई किर्ते गरी ०–६–० बनाई नापी र मालपोत कार्यालयको मिलेमतोमा श्रेस्ता पूर्जा तयार पारिएको अनुसन्धानबाट खुल्न आएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार प्रत्येक प्रतिवादीलाई एक लाख पचास हजार रुपैयाँ जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर