बिश्वास सम्बादाता
बारा, फागुन ८
बाराको फेटा गाउँपालिकामा भएको विवादका क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अंसारीमाथि कुनै किसिमको हातपात नभएको स्पष्ट गरिएको छ। अध्यक्ष अंसारीले आफू सुरक्षित रहेको र सामाजिक सञ्जाल तथा केही माध्यममा फैलाइएको हातपातसम्बन्धी समाचार भ्रामक रहेको बताएका छन्।
अध्यक्ष अंसारीले सर्वसाधारणलाई अपुष्ट र भ्रामक समाचारको पछि नलाग्न आग्रह गर्दै समाजिक सद्भाव बिगार्ने उद्देश्यले योजनाबद्ध रूपमा भ्रम फैलाइएको आरोप लगाए। उनका अनुसार क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जीत सुनिश्चित हुने माहोल बन्दै गइरहेको भन्दै त्यसलाई प्रभावित पार्ने नियतले समेत गलत प्रचार गरिएको हुनसक्ने संकेत गर्नु भयो ।
गएराति वडा नम्बर ३ मा आएको जन्तीका क्रममा दुई समुदायका युवाबीच सामान्य कुटाकुट भएको थियो। सोही विवादलाई मिलाउन अध्यक्ष अंसारी आफैं पुगेका थिए। तर, केही अराजक तत्वले विवाद समाधानतर्फ लाग्नुको सट्टा हिन्दु–मुस्लिम समुदायबीच मतभेद सिर्जना गर्ने प्रयास गरेको आरोप छ।
फेटा बजार क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भए पनि अध्यक्ष अंसारीको पहलमा तत्काल प्रहरी परिचालन गरिएको थियो। प्रहरी उपस्थितिपछि स्थिति नियन्त्रणमा आएको र हाल अवस्था सामान्य रहेको जनाइएको छ।
स्थानीय प्रशासनले पनि सर्वसाधारणलाई संयमित रहन र कुनै पनि सूचना आधिकारिक स्रोतबाट मात्र पुष्टि गर्न आग्रह गरेको छ। सामाजिक सद्भाव कायम राख्न सबै समुदायबीच संवाद र सहकार्य आवश्यक रहेको स्थानीय अगुवाहरूले बताएका छन्।







