भुवन यादव
कलैया,फाल्गुन २१
नेपाली कांग्रेस का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार फर्मुल्लाह मन्सूरले बारा निर्वाचन क्षेत्र नम्बर ३ मा आफ्नो मत खसाएका छन्।
मन्सूरले बिहीबार बिहान कलैया ५ मा रहेको रामराजा मोबि साह बहुमुखी क्याम्पस मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले बारा–३ का मतदाताबाट आफूले राम्रो साथ र समर्थन पाएको दाबी गरे।
उनले भने, “चुनावी अभियानका क्रममा जनताले देखाएको माया, विश्वास र आशिर्वादले म अत्यन्तै उत्साहित छु। बारा–३ का मतदाताले विकास, सुशासन र स्थायित्वको पक्षमा मतदान गर्नेमा म विश्वस्त छु।”
मन्सूरले निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा भइरहेको भन्दै सबै मतदातालाई निर्भय भएर आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गरेका छन्।
निर्वाचन आयोग का अनुसार बारा–३ का विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाइएको छ।
यस क्षेत्रको निर्वाचन परिणामप्रति स्थानीय स्तरमा चासो बढेको छ। अहिले मतदाताहरू धमाधम मतदान केन्द्रमा पुगेर आफ्नो मत खसाइरहेका छन्। यसैबिच नेपाली काङ्ग्रेस को समानुपातिक उम्मेदवार प्रीयन्का कुमारी दासले समेत कलैया १ मा रहेको देवकिलाल धर्मशालामा पुगेर मतदान गरेकी हुन । दासले सम्पुर्ण मतदातालाई उत्साहपुर्ण रुपमा रास्ट्र बनाउन मतदान गर्न आग्रह गरेकी छन ।







