भुवन यादव
कलैया, २३ फागुन
बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली काङ्ग्रेस बाट उम्मेदवारी दिएका फरमुल्लाह मन्सूरले निर्वाचन परिणाम सार्वजनिक भएपछि मतदाताप्रति आभार व्यक्त गर्दै विजयी उम्मेदवारलाई बधाई दिएका छन्।
नेपाली काङ्ग्रेस का उम्मेदवार मन्सुरले समाजिक सन्जाल फेसबुक बाट निर्वाचनका क्रममा पार्टीप्रति मतदाताले देखाएको माया, विश्वास र सद्भावप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले प्रत्यक्षतर्फ आफूलाई तथा समानुपातिकतर्फ पार्टीलाई अमूल्य मत प्रदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन्।
मन्सुरले निर्वाचन अभियानमा निरन्तर खटिएका पार्टीका ईमान्दार नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पनि विशेष धन्यवाद दिँदै उनीहरूको समर्पण र सहयोगलाई उच्च सम्मान गरेको बताएका छन्।
उनले मतदाताको उत्साहजनक साथ हुँदाहुँदै पनि परिणाम आफ्नो पक्षमा नआएको उल्लेख गर्दै जनताले मतपत्रमार्फत व्यक्त गरेको अभिमतलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्। साथै निर्वाचनबाट प्राप्त सन्देश र सुझावलाई आत्मसात गर्दै आगामी दिनमा अझ जिम्मेवार भएर जनताको सेवामा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
यसैबीच मन्सुरले बारा–३ बाट विजयी भएका अरबिन्द साह लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
उनले पार्टीका ईमान्दार नेता तथा कार्यकर्तालाई संयमित, धैर्यशील र संगठित भएर अघि बढ्न आग्रह गर्दै आफू सधैं जनताको सेवामा समर्पित रहने बताएका छन्। नेपाली राजनितीमा एकदम ईमान्दार असल र दुरदर्शि नेताका रुपमा उनी परिचित छन ।







