
कलैया ।सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।
विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतको परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर लाखौं सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा बसेका छन् ।
गत वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो ।विभागले पछिल्लोपटक अनलाइन आवेदन पनि बन्द गरेको छ । विभागका अनुसार ट्रायल खुल्ने टुंगो लागेपछि पुनः अनलाइन आवेदन खुलाउने तयारी गरिएको छ ।
यसअघि, विभागले कोटा प्रणाली गरेकोमा अब कोटा प्रणाली तोक्ने कि नतोक्ने भन्ने विषयको टुंगो लाग्न बाँकी छ । यसअघि कार्यालयलाई विभागले कोटा तोकिदिने गरे पनि अब भने कोटा नतोक्ने र कार्यालयले जति सक्छन् सोहीअनुसार गराउने तयारीमा विभाग छ । तर, २४ गतेको छलफलपछि कार्यालयको सुझावका आधारमा यसको अन्तिम टुंगो लगाइने भएको छ ।विभागले ट्रायल परीक्षा खुलाएसँगै नयाँ व्यवस्था लागू गर्ने तयारी समेत गरेको छ । राजधानी दैनिकबाट